३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

गौरीगंज बहुमुखी क्याम्पस प्रशासनको ‘मनपरी शैली’, स्नातक तहको परिक्षा मिति सार्यो



गौरीगंज २८, जेठ / गौरीगंज बहुमुखी क्याम्पस प्रशासनले स्नातक तह चौथो वर्षको विएड विद्यार्थीहरूलाई प्रयोगात्मक परीक्षा तालिका अचानक फेसबुकमार्फत मात्र सार्वजनिक गरेको भन्दै विद्यार्थीहरूले कडा असन्तुष्टि जनाएका छन् । सूचना सार्वजनिक गर्ने तरिका र समयबारे असहमति जनाउँदै उनीहरूले आज बुधवार परीक्षा बहिस्कार गरेका छन् ।

मंगलवार राति क्याम्पसको आधिकारिक फेसबुक पेजमार्फत परीक्षा तालिका प्रकाशित भएको थियो । तर उक्त सूचना न त क्याम्पसको सूचना पाटीमा टाँस गरिएको थियो, न त कक्षामा नै जानकारी दिइएको थियो । विद्यार्थीहरूले परीक्षा तालिका हेरेपछि एक्कासी ’जेठ २७ गते मंगलवार’ भनेर उल्लेख गरिएको देखेपछि झन् अन्योलमा परे ।
क्याम्पस प्रशासनप्रति आक्रोशित विद्यार्थीहरूले यो ‘मनपरी शैली’ मा गरिएको तालिका प्रकाशन भएको आरोप लगाएका छन् । विद्यार्थीका अनुसार सूचना दिनुपर्ने प्रमुख माध्यम सूचना पाटी तथा कक्षा हुनु पर्नेमा सामाजिक सञ्जालमार्फत राति सूचना सार्वजनिक गर्नु गैरजिम्मेवार कार्य हो ।
क्याम्पसको फेसबुक पेज सञ्चालन गर्ने कर्मचारी डम्बर थापाले क्याम्पस प्रशासनको निर्देशनमा सूचना सार्वजनिक गरिएको बताए पनि विद्यार्थीहरूले उनले आफूखुशी यस्तो कार्य गरेको भन्दै चर्को आलोचना गरेका छन् ।
आज बुधवार बिहान विद्यार्थीहरूले परीक्षा बहिस्कार गर्दै क्याम्पस प्रशासनसँग छलफल गरेका थिए । छलफलका क्रममा विद्यार्थीहरू र प्रशासनबीच चर्काचर्की समेत भएको थियो । विद्यार्थीहरू परीक्षा तालिका यथासमय, जिम्मेवार ढंगले र स्पष्ट रूपमा प्रकाशन गर्नुपर्ने मागमा अडिग थिए ।
विरोध र बहसपछि क्याम्पस प्रशासनले मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै नयाँ तालिका सार्वजनिक गरेको छ। प्रशासनले अब परीक्षा जेठ ३१ गतेदेखि सुरु हुने जानकारी दिएको छ ।

क्याम्पस प्रमुखप्रति विद्यार्थीको प्रमुख गुनासो भनेको सूचना व्यवस्थापनमा लापरवाही गर्नु, विद्यार्थीहरूको भावनालाई बेवास्ता गर्नु र संवादको अभाव हो। क्याम्पस प्रशासनले भविष्यमा यस्ता समस्या नदोहोरÞ्याउने प्रतिबद्धता जनाए पनि विद्यार्थीहरू अझै सतर्क छन् ।

स्ववियु सभापति रोशन यादव भन्छन्, ‘हामीलाई परीक्षा भन्ने दिनभन्दा तीन दिन अगाडि मात्र राति ८ बजे फेसबुकमा सूचना दिइयो, जुन पूर्णतः गैरजिम्मेवार र अन्यायपूर्ण हो ।’ उनले भने– ‘हामीलाई न त शिक्षकले बताए न त सूचना बोर्डमा केही टाँसियो, यसरी परीक्षा दिन विद्यार्थी कसरी तयार हुन्छन् ?’
यता क्याम्पस प्रशासनका एक प्रतिनिधिले भने, ‘सूचना ढिलो भए पनि त्यसमा सुधार गरिसकिएको छ। अब परीक्षा निर्धारित मितिमा शान्तिपूर्वक सञ्चालन गर्ने योजना छ।’
यस घटनाले क्याम्पसमा सूचना व्यवस्थापन, विद्यार्थीसँगको संवाद र परीक्षा तयारी प्रक्रिया कस्तो हुनु पर्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा गरेको छ ।
अब विद्यार्थीहरू आगामी परीक्षा निर्धारण अनुसार सहभागिता जनाउने तयारीमा छन् । तथापि उनीहरूले क्याम्पस प्रशासनले समयमै सूचना दिने, पारदर्शिता कायम गर्ने र विद्यार्थीसँग नियमित संवाद गर्ने व्यवस्था मिलाउनु पर्ने चेतावनी दिएका छन् ।

https://www.facebook.com/kochilanews/videos/1287618959746507

https://www.facebook.com/kochilanews/videos/128761895946507

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ५ : ०६ बजे