१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

कचनकवल गाउँपालिकमा स्थानिय पाठ्यक्रम लागू



कचनकवल ३१, वैशाख / झापाको कचनकवल गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिका भित्र रहेका ३० वटा सामुदायिक विद्यालयहरुमा चालू शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू भएको हो ।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले चालु शैक्षिक सत्रको सुरुआतदेखि नै स्थानीय पाठ्यक्रम लागू भएको जानकारी दिए । सामुदायिक विद्यालयको कक्षा १ देखि कक्षा ८ सम्मको स्थानिय पाठ्यक्रम निर्माण भईसकेको र हाललाई कक्षा ३ सम्म लागू गरिएको अध्यक्ष राजवंशीले बताए ।

सामुदायिक विद्यालयहरुसंगै संस्थागत विद्यालयहरुमा पनि स्थानिय पाठ्यक्रम लागू गरिने अध्यक्ष राजवंशीले बताए ।

स्थानीय पाठ्यक्रममा समुदायभित्र रहेका चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोतसाधन, भूगोल, भाषा, वेषभूषा, पेशालगायतसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् ।
कचनकवल ज्ञानमाला शृङ्खला कक्षा १ देखि कक्षा ८ सम्मको स्थानिय पाठ्यक्रमको रुपमा निमार्ण गरिएको उक्त पाठ्यपुस्तकमा स्थानिय ठाउँहरुको परिवेश, सामाजिक रितिथिति र परम्परा, रमाइला ठाउँ र घुमफिर, कृषि, उद्योग र आयआर्जन, सिप, स्थानिय खेलकुद र मनोरञ्जन, व्यक्तित्व विकास, स्वस्थ्य, नैतिकतालगायतका विषयवस्तुहरुसमेत समेटिएका छन् । उक्त गाउँपालिकामा बसोबास गर्ने राजवंशी, गन्गाई , सन्थाल, माझि,मुस्लिम,कुमाल समुदायको परिचय, रहनसहन,चाडपर्व, धार्मिक स्थल, थान मन्दिर,खानेकुरा, पहिरन, बाजागाजा,हाट बजारबारे परिचयसहित महत्व र सम्बन्धबारे उल्लेख गरिएको स्थानिय पाठ्यक्रम निमार्ण समितिका सदस्य कर्ण राजवंशीले बताए । उनले भने, ‘ पाठ्यक्रम तयार गर्दा स्थानिय स्तरमा सङ्कलित सूचना तथा तथ्यांक उपर विभिन्न विधाका विषय विज्ञद्वारा विश्लेशण र प्रशोधन गरी सांस्कृतिक पक्षको बहुआयामिक अध्ययन गरेका छौ । स्थानिय आवश्यकता र संवेदनशीलतालाई उजागर गर्न यस स्थानिय पाठ्यक्रमले निकै सहयोग पुर्याउँछ ।’

कक्षा १ को हाम्रो कचनकवल पाठबाट …
कक्षा एकमा पढ्ने हामी बालबालिका
घर हाम्रो कचनकवल गाउँपालिका
गाउँपालिकालाई माया गर्ने हाम्रो बानी
पालिकाको केन्द्र खोज्दै आउनू बेनियानी ।

कक्षा ८ सम्म लागू हुनेगरी स्थानीय तहले पाठ्यक्रम स्थानीय बनाउन पाउँछन् । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ कक्षा १–३ तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ कक्षा ४–५ ले प्राथमिक तहमा सय पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीयस्तरबाट निर्माणगरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६–८ मा मातृभाषा÷स्थानीय विषय÷संस्कृत वा अन्य विषय सय पूर्णाङ्कको स्थानीयस्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारूपले स्थानीय आधुनिक पेशा, व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ८ : ५३ बजे