२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025

बिर्तामोडका चारजना डीएसपीले पाए सम्मान,दिनो राजवंशीको आत्माले पाएन न्याय



बिर्तामोड , बैशाख २३ । २०७७ सालयता चार वर्षमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा चारजना डीएसपी जिम्मेवारी सम्हालेर विदा भए ।

सरुवा भएर आउँदा उनीहरुलाई जुन स्वागत सम्मान गरियो , जाने बेलामा त्यो भन्दा बढी भव्य सम्मानसहित विदा गरियो । २०७७ सालदेखि २०८२ को बैशाख दोस्रो सातासम्म मुकुन्द रिजाल, रुगमबहादुर कुँवर , सुरज कार्की र प्रकाश विष्टले बिर्तामोड प्रहरीको नेतृत्व सम्हाले । अपराध अनुसन्धानमा अब्बल ठानेर बिर्तामोडबासीहरुले ती चारैजनालाई सम्मानसहित भव्य विदाई गरिरहँदा बिर्तामोड २ चैतुवारीकी दिनो राजवंशीको आत्माले न्याय पाउन सकेन । चार वर्षसम्म पनि उनलाई बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लाग्न सकेन ।

२०७७ पुष ५ गते बिहान बिर्तामोड २ चैतुवारीकी ४२ वर्षीया दिनो राजवंशी मृत अबस्थामा फेला परेकी थिइन् । अघिल्लो दिनको बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिँडेकी थिइन् ।त्यसपछि बेपत्ता भएकी उनको शव भोलिपल्ट विहान फेला परेको थियो ।सोही ठाउँका मोहन मगरको खेतमा नाक र मुखबाट सामान्य रगत बगेको,उतानो अवस्थामा शव फेला परेको थियो । शवको छेउमै खानाको पोको र टर्चलाइट भेटिएको थियो ।

घटनापछि संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाएर त्यसबेलाका डीएसपी मुकुन्द रिजालले अनुसन्धान थालेका थिए । घरपरिवारबाटै उनको हत्या भएको आशंकामा दिनोका श्रीमान बिरबहादुर राजवंशीमाथि प्रहरीले अनुसन्धान गरेको थियो । तर, पुष्टि हुन सकेन । दिनोको अनुसन्धान पूरा नहुँदै मुकुन्द रिजाल सरुवा भएर गए । त्यसपछि आएका रुगम कुँवरले त्यस फाइललाई खोल्ने प्रयास गरेका थिए । यसअघि हत्यामात्र भएको बताइएकोमा कुँवरले बलात्कारपछि हत्या भएको पुष्टि गराए । उनले केही शंकास्पद व्यक्तिलाई सोधपुछ गरेपनि प्रमाणसहित पक्राउ गर्न सकेनन् ।

त्यसपछि आएका सुरज कार्की र प्रकाश विष्टले दिनोको फाइल नै खोलेनन् । चारजना डीएसपीले दिनोको अपराधीलाई पक्राउ गर्न नसकेपछि भर्खरै बिर्तामोड प्रहरीको कमाण्ड सम्हाल्न विजय श्रेष्ठ आइपुगेका छन् । उनले सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रभावकारी ढंगले लाग्ने बताएका छन् । आफूले दिनो राजवंशीको पुरानो फाइल खोल्ने डीएसपी श्रेष्ठले बताए ।

२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा भएको निर्मला पन्त बलात्कार र हत्याकाण्डको जस्तै दिनो राजवंशीको घटनामा प्रहरी प्रशासन असफल बन्न नहुने स्थानीयहरु बताउँछन् । कुनै पनि हालतमा दिनोको हत्यारालाई पक्राउ गरी कार्वाही गर्नुपर्ने उनीहरुको माग छ । ( प्रतिदिन दैनिक अनलाइनबाट साभार )

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ३८ बजे