३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

कोच राजवंशी कलाकार मञ्चद्वारा गौरीगंजमा भव्यरुपमा काद सिरुवा



गौरीगंज २, वैशाख / तराई आदिवासी समुदायले बैशाख २ गते आज काद सिरुवा मनाएका छन् । विशेष गरी झापा, मोरङ्ग र सुनसरीमा बसोवास गर्ने आदिवासी समुदायले एक आपसमा काद (हिलो) छ्यापेर शुभकामना आदानप्रदान गरी काद सिरुवा मनाएका हुन् । यसै अवसरमा कोच राजवंशी कलाकार मञ्चले गौरीगंजमा भव्यरुपमा काद सिरुवा मनाएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित अतिथि सदनको प्राङ्गनमा सामुहिकरुपमा काद सिरुवा मनाएको हो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय गायक तथा संगितकार बलराम राजवंशीलगायत विभिन्न कोच राजवंशी कलाकारहरुको सांगितिक प्रस्तुति रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमलप्रसाद राजवंशीको रहेको थियो । एक अर्कामा काद (हिलो) लगाएर नयाँ वर्ष तथा सिरुवा पर्वको शुभकामना आदानप्रदान गरेका थिए । हिलो अर्थात काद लगायो भने वर्षभरि शरिरमा चर्मरोग नलाग्ने र विभिन्न रोग व्याथाबाट बच्न सक्ने वैज्ञानिक तथा प्राकृतिक विश्वासमा आदिवासी समुदायले काद सिरुवा मनाउने गरेको धार्मिक मान्यता छ । तीन दिन सम्म मनाईने सिरुवा पर्व दोस्रो दिन आज काद सिरुवा मनाएका हुन् ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार बलराम राजवंशी, गायक प्रमोद राजवंशी, निकिता राजवंशी , उर्मिला राजवंशी, रिता राजवंशी, रेश्मिता राजवंशी, रोशन राजवंशी, हनी राजवंशी र प्रल्हाद राजवंशीको वेजोड सांगितिक प्रस्तुति रहेको थियो । कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमलप्रसाद राजवंशी,वार्ड नं. ३ का वार्ड अध्यक्ष श्रवण गिरी, वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशी, राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष सुबन्त राजवंशी, राजवंशी समाज विकास समितिका केन्द्रिय उपाध्यक्ष देवी प्रसाद राजवंशी, गौरीगंज बहुमुखी क्याम्पस गौरीगंजका व्यवस्थापन समितिका अध्यक्ष मखना महतो, राजवंशी समाज विकास समितिका पूर्व जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगा प्रसाद राजवंशी,राजवंशी समाजका बुद्विजीवी गोपाल प्रसाद सिंह राजवंशी, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहलगायतको सहभागिता थियो । आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठान, गौरीगंज गाउँपालिका, बाबा नेपाल इन्भेष्टमेन्ट गौरीगंज, एवन मार्ट सपिङ्ग सेन्टर गौरीगंज, रुपा क्लोथ स्टोर्स गौरीगंज, न्यु भिजन एकाडमी गौरादहको प्रयोजक रहेको कार्यक्रमको सहआयोजक राजवंशी समाज विकास समिति गौरीगंज रहेको थियो । कार्यत्रमको सञ्चालन गौरीगंज दर्पणका पत्रकार तथा सम्पादक मदन राजवंशी मनप्रीतले गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : २३ बजे