२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025

राजवंशी समाज विकास समिति गौरीगंजले जेष्ठ नागरिकहरुलाई सम्मानसहित भव्यरुपमा सिरुवा मनायो




गौरीगंज १, वैशाख / राजवंशी समाज विकास समिति गौरीगंजको आयोजनामा पानी, काद तथा रङ्ग सिरुवा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा आज कुञ्जिवारीमा सम्पन्न कार्यक्रममा नयाँ वर्ष तथा सिरुवा पर्वको अवसरमा पानी तथा हिलो एक अर्कामा लगाएर शुभकामना साटासाट गरी मनाएका छन् । पूर्व तराईमा बसोवास गर्ने आदिवासी समुदायको महान पर्व सिरुवा ३ दिन सम्म बनाइने गरिन्छ । राजवंशी समाज विकास समिति गौरीगंज वार्ड नं. १ का अध्यक्ष केशव प्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशीे जातिको जातिय पहिरनमा पुरुषहरु धोती र सिरुवा लेखिएको टि सर्ट र महिलाहरु पेटानीमा सजिएर हिलो अर्थात काद लगाएर एक अर्कामा शुभकामना साटासाट गरेका हुन् । कार्यक्रममा कोच आदिवासीहरुको परम्पारगत स्थानिय गाइन नाच प्रदर्शन गरिएको थियो भने गायक राम राजवंशी, निकिता राजवंशी, प्रहलाद राजवंशीलगायत स्थानिय कलाकारहरुले आ–आफ्नो गायन प्रस्तुत गरेका थिए ।
राजवंशी समाज विकास समिति गौरीगंजका अध्यक्ष गोपाल प्रसाद राजवंशीको स्वागत रहेको कार्यक्रममा २ दर्जन भन्दा बढी जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो । गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड सदस्य रेखा राजवंशी, समाजिक व्यक्तित्व विद्यानन्द राजवंशी, निवर्तमान रासविस जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी, राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तम राजवंशी, समाजसेवी गोपालचन्द्र सिंह राजवंशी, साना किसान सहकारी संस्था महाभराका अध्यक्ष देवेन्द्रनारायण राजवंशी, नेका वडा सभापति विनोद राजवंशीलगायत विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको सहभागी रहेको कार्यक्रमको सञ्चालन राजवंशी समाज विकास समितिका सचिव तिलक प्रसाद राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ९ : ५३ बजे