
गौरीगंज १, बैशाख / आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ ।
नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्छन् ।
विगतका कामको समीक्षा गर्दै कमजोरी सुधार गरेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।
यस्तै आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलनसमेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउनको लागि योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्छन् ।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मीठो भोजन बनाएर खाने चलन छ । यसैबीच आदिवासी राजवंशी समुदायको सिरुवा पर्व आजदेखि शुरु भएको छ । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन पानीको होली जल सिरुवा , दोस्रो दिन हिलोको होली काद सिरुवा र तेस्रो दिन रंगहरुको होली रंग सिरुवा खेल्ने चलन छ ।
प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले मनाउने गरेका छन् । उनीहरूले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर मनाउने गरेका छन् । वैशाख १ गते उनीहरूले एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा पानी छ्यापाछ्याप गरेर मनाएका छन् । उनीहरूले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्नेलगायतका कार्यसमेत गरेका छन् ।
नयाँ वर्षको पहिलो दिन जल (पानी) सिरुवा मनाउने गरिन्छ । २ गते काद सिरुवा र ३ गते रङ सिरुवा खेलेर एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिकरुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगञ्जका पुराना पत्रकार आत्माराम राजवंशी बताउछन् । उनका अनुसार चैत मसान्तमा विभिन्न प्रकारका सात वटा सागसब्जी मिसाएर पकाएको पक्वान वैशाख १ गते खाने प्रचलन छ । अन्य मीठा-मीठा परिकारसमेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, बिसहरी, काली देवीदेवताको पूजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान गरिने उनले बताए । सिरूवा विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै आदिवासी समुदायको परम्परागतगत ढोलसना नाच, नटुवा नाच, घाटोसरी गीत र आधुनिक गीतलगायत विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिआएको पाइन्छ ।
सिरूवा उत्सवसँगै रङ खेल्ने कार्यक्रम रहेको छ । पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामूहिकरुपमा खेल्ने गाजीमुरी(चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने चलन रहेको छ ।
नयाँ वर्ष आउनु चार–पाँच दिन पहिलेदेखि एउटा शुद्ध भाँडोमा साजीको मूर्ति राखेर घरघरमा मागी हिँड्ने (भादाखेली) अनि बङ्गला पात्रोअनुसार वैशाख १ गतेका दिन नदीमा पूजा गरी सेलाउने चलन छ । यो साजी देउताको पूजा महिलाले मात्र गर्ने चलन छ ।
नयाँ वर्ष तथा सिरुवा पर्वको अवसरमा झापा तथा मोरङ्गका आदिवासी बाहुल्य बस्तीहरुमा परम्परागत सांस्कृतिक नाच गानसहित मेला लगाउने गरिएको छ ।