
झापा, चैत ३० / सरकारमाथि हमला हुन थालेपछि संघीयता र गणतन्त्रको रक्षाका लागि भन्दै सत्तारुढ नेकपा एमालेको कोशी प्रदेश कमिटीले दमकमा आज जनजागरण सभा गर्दै छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेश कमिटीले दाबी गरेको छ। दमकको पशुहाटमा हुने सभामा कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए। जागरण सभाको अघिल्लो दिन दमकमा मोटरसाइकल र्याली आयोजना गरिएको थियो ।
कार्यक्रम गर्ने स्थलमै शुक्रवार गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको जानकारी दिए।
चैत १५ गते काठमाण्डौमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए।
सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो संख्यामा सहभागी रहने एमालेको दाबी छ। यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य संख्यामा सहभागी रहने उनले जानकारी दिए। पूर्वबाट जाने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभास्थलमा र्यालीसहित प्रवेश गराइने छ।
यस्तै पश्चिमबाट आउनेहरूलाई पश्चिम स्टेन्डबाटै र्यालीसहित सभामा प्रवेश गर्ने भनिएको छ।सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन्। यस्तै विभिन्न कलाकारहरूले समेत प्रस्तुति दिने छन्। सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।