१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025

दुर्गा प्रसाई पक्राउ परेको हल्ला,सचिवालयको दाबी – आत्मसमर्पण गर्नु भएको हो



झापा २८, चैत / गएको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं बी ए बी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए । प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो ।

त्यहाँबाट भागेर उनी भारततर्फ लागेको भेटिएको थियो । फरार भएर भारततर्फ लुक्दै आए पनि प्रसाईंले भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंमै रहेको दाबी गरिरहेका थिए ।

तर, प्रहरीले उनको पूर्वी सीमा क्षेत्रमा पर्ने पानीट्यांकीस्थित अड्डा फेला पारिसकेको थियो । त्यसबीच फरार भएका प्रसाईंले बिहीबार अपराह्न आसाममा आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ । प्रहरीले भने उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गरेको भनेको छ ।

सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं ।’

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १० : ३९ बजे