
झापा, चैत १७ । पूर्वी नेपालमा भुटानी शरणार्थी समस्या फेरि बल्झिन सक्ने देखिएको छ । भुटानले नेपाली भाषी आफ्ना नागरिकहरुलाई भारत हुँदै नेपालतिर लखेट्न थालेपछि नेपालमा बल्लतल्ल पार पाइएको भुटानी शरणार्थी समस्या फेरि बल्झिन सक्ने देखिएको हो ।
अमेरिकाबाट निष्काशित भएर भुटान फर्केका १० जना पूर्व शरणार्थीहरुलाई भुटानी सरकारले आफ्नो देशमा बस्न नदिई नेपालतिरै लखेटेको हो । ती दश जनामध्ये तीन जना पानीट्यांकी हुँदै शुक्रवार दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिर पुगेका थिए । उनीहरुलाई हिजो प्रहरीले पक्राउ गरी अध्यागमन कार्यालय काँकडभिट्टाको जिम्मा लगाएको थियो । तर ती पूर्व शरणार्थीहरुलाई नेपालबाट फर्काउन समस्या भएको छ । भुटानले आफ्नो देशमा बस्न नदिएको ती पूर्व शरणार्थीहरुलाई कहाँ लगेर छोड्ने भन्ने समस्या भएको हो । भारतकै बाटो भएर नेपाल छिरेका ती पूर्व शरणार्थीहरुलाई भारततिरै फर्काउने कि के गर्ने भनेर अध्यागमन विभागसंग छलफल भइरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए ।
यसअघि सन् १९९० मा भुटान सरकारले आफ्ना नागरिकलाई देश निकाला गर्दा भारतमा ल्याएर छोडेको थियो भने भारतले नेपालतिर पठाइदिएको थियो । तिनीहरुलाई भारतको बाटो हुँदै भुटान फर्काउन खोज्दा भारतीय सरकारले अवरोध गरेको थियो । जुन समस्या फेरि आउन सक्ने आकलन गरिएको छ । दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिर आएका बर्ष ३६ का आशिष सुवेदी , बर्ष ३१ का सन्तोष दर्जी र बर्ष ३६ का रोशन तामाङलाई प्रहरीले अध्यागमन कार्यालयको जिम्मा लगाएको हो । अमेरिकाबाट १० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका थिए । डिपोर्ट भएका १० जनालाई भुटानले पारो विमानस्थलमा स्वागत गरी जयगाउँ हुँदै भारतको पानीट्यांकीमा ल्याएर छाडेको थियो। त्यहाँबाट तीन जना अनधिकृत रूपमा नेपाल छिरेका थिए। भुटानले उनीहरूलाई नागरिकताको आधारमा स्वीकृति नदिई देश छाड्न निर्देशन दिएपछि नेपाल आएका थिए ।
यो घटनाले तीन दशकभन्दा बढी समयदेखि जारी भुटानी शरणार्थी समस्या फेरि बल्झिने हो कि भन्ने शंका जन्माएको बेलडाँगी शिविरमा रहेका शरणार्थीहरू बताउँछन्।
डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि उनले आप्रवासीहरूमाथि कडा नीति लिएका छन्। विभिन्न देशबाट आएका आप्रवासीलाई लगातार डिपोर्ट गरिरहेका छन्। केही नेपालीहरू पनि डिपोर्ट भएर आइसकेका छन्।
ट्रम्प सरकारले ती १० जना शरणार्थीलाई उनीहरूको वास्तविक मुलुक भुटान नै फिर्ता पठाएको भए पनि त्यहाँको सरकारले अपनाउन मानेन। आजभन्दा ३५ वर्षअघि भुटान सरकारले जसरी नेपालीभाषी भुटानी नागरिकहरूलाई अनागरिक बनाएर लखेटेको थियो । यसपाली पनि अमेरिकाबाट डिपोर्ट भएर आइपुगेका १० जनालाई त्यसरी नै लखेटेको हो ।
यसैबीच भुटानमा बसोबास गर्दै आएका अन्य ६ जना पनि नेपाल प्रवेश गरेका छन् । हिजो दिउँसो अन्दाजी १.३० बजे भुटानमा बसोबास गर्दै आएका ४ महिला र २ जना पुरुष काँकरभिट्टाको नाँका हुँदै नेपाल आएका हुन् । नेपाल आउनेहरुमा बर्ष ६४ का नारद सर्मा, वर्ष ६१ की निरा तिमिल्सिना, बर्ष २२ का राजकुमार गुरुङ ,बर्ष ४१ की शान्तिमाया गुरुङ ,बर्ष ४५ की चन्द्रमाया गुरुङ र बर्ष ६४ की सोममाया गुरुङ रहेका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाले रुजु गरी ३० दिनको प्रबेशाज्ञा दिएपछि उनीहरु आफन्त भेटघाटको लागि दमक गएको प्रहरीले जनाएको छ ।