
गौरीगंज १४, माघ / झापाको काँकरभिट्टामा आयोजित प्रथम इन्डो नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा गौरीगंजबाट सहभागी टिम स्वर्ण पदकसहित जित हासिल गरेको छ । कोशी प्रदेश तेक्वान्दो एशोसिएसनद्वारा माघ १२ र १३ गते आयोजित प्रतियोगितमा एक स्वर्ण, दुई रजत र चार कांस्य पदक जित्दै सम्मानजनक जित हासिल गरेको हो । भारतको आसाम, पश्चिम बंगाल, दिल्ली, दार्जिलिङ्गलगायतको टिम, नेपालको काठमाडौं, वीरगंज सहभागी टिमको प्रतियोगितामा गौरीगंज गाउँपालिकाबाट तेक्वान्दो कोच रुपक राई र शंकर कार्कीको नेतृत्वमा गौरीगंजका खेलाडीहरुको सहभागिता थियो । प्रतियोगितामा प्रिजम कार्की, यसोदा बुढाथोकी, इसिका श्रेष्ठ, मिना नेपाल, प्रितम राजवंशी, रोयना राई, सभ्यता तामाङ्गलगायत खेलाडीहरुले स्वर्ण, रजत र कांस्य पदक जितेका हुन् ।


