३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस २ वर्ष अवधिमा १९ पटक रत्तदान, झापाकै उत्कृष्ट उपशाखा गौरीगंज



गौरीगंज २०, भदौं / नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरीगंजले हिजो बुधबार आफ्नो ६२औं स्थापना दिवस मनाएको छ । ‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ रेडक्रस सोसाइटी गौरीगंजले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी गौरीगंजले गौरीगंज चोकमा दिपप्रज्ज्वलन कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस गौरीगंजका अध्यक्ष यादव रिजालले मानवीय सेवामा अहोरात्र खट्ने सम्पुर्ण महानुभावहरुको योगदानको सराहना गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सभापति रिजालले २ बर्षको अवधिमा झापा जिल्लाकै उत्कृष्ट उपशाखाकोरुपमा स्थापित हुदै १९ पटक रक्तदान कार्यक्रम सञ्चालन गरेको बताए । विभिन्न समयमा १३ जना आगलागि पिडित घरपरिवार लाई राहत प्रदान गरेर मानव सेवामा उत्कृष्ट उपशाखाको रुपमा चिनारी बनाएको बताए । सुरक्षित आवास लगायत डेङ्गुरोग निर्मुलनमा सचेतनामुलक कार्यक्रमसहित लागुऔषध दुव्र्यशनीमा सक्रिय रहेको सभापति रिजालले बताए । कार्यक्रममा रेडक्रसका आजीवन सदस्य तथा गौरीगंज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापाले मानवीय सेवामा रेडक्रस सोसाइटीको उल्लेख्य योगदान रहेको बताए । उपाध्यक्ष थापाले रेडक्रस गौरीगंज उपशाखा गौरीगंजले मानविय सेवामा झापा जिल्ला मध्ये उत्कृष्ट कार्य गरी गौरीगंजको गौरवलाई उच्च बनाएर नमुना काम गरेकोमा प्रशंसा व्यक्तसहित धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखाना महतोले रेडक्रस उपशाखा गौरीगंजले मानवीय सेवामा निरन्तर लागेर यहाँको आपत्तविपत्तमा अहोरात खट्ने गरेकामा त्यसको प्रशंसा व्यक्त गर्दे आगामी दिनहरुमा पनि साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताए । आजीव सदस्य केदार ढुंगेलले रेडक्रस सोसाइटी विसुद्व मानवीय सेवा क्षेत्रमा काम गर्ने संस्था भएकोले गौरीगंज उपशाखाले हरेका आपत्त विपतमा गरेका विभिन्न कार्यहरु प्रशंसनिय रहेको बताए । नेपाल रेडक्रस सोसाइटि गौरीगंजका सभापति यादव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रबन्धक सञ्जय साहु, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साह, सशस्त्र सिमा सुरक्षा वल गौरीगंजका डिएसपी राज वस्नेतलगायतको सहभागितामा भएको कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी गौरीगंजका उपसभापति कल्पना थापाले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । महामानव जाँ हेनरी ड्युनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गरे । अन्तर्राष्ट्रिय रेडक्रस आज विश्वका एक सय ९० राष्ट्रमा फैलिरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रस स्थापनाको ठीक एक सय वर्ष पछाडि वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएको थियो । मानवीय सेवाको ५० वर्षसम्मको यात्रा तय गर्दा धेरै अनुभवहरू, सिकाइहरूलाई आत्मसात् गर्दै चुनौतीहरूलाई अवसरमा बदल्दै भविश्यका लागि उपयुक्त मार्गदर्शन निर्धारण गर्न नेपाल रेडक्रस सोसाइटी सफल भएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रसको पृष्ठभूमिलाई नियाल्दा अभियानका संस्थापक हेनरी ड्यूना सन् १८५९ मा व्यवसायको शिलशिलामा नेपोलियन तृतीयलाई भेट्न इटालीको सल्फेरिनो भन्ने ठाउँमा पुगे । त्यहाँ अस्ट्रिया, फ्रान्स एकातिर र अर्कोतिर इटलीका सेनाहरूबीच युद्ध लडिरहेका थिए । नेपोलियनले उक्त लडाइँको नेतृत्वको भूमिका निभाइरहँदा चित्कार, छटपटी र शक्तिशाली सिपाइहरूबाट अपहेलित व्यवहारका कारणले बढेको मानवीय पीडा र बेदना सहन नसकी स्थानीय महिलाहरूको सहयोगमा घाइते सिपाइहरूलाई प्राथमिक उपचार गर्न लागे । त्यसपछि उनको मस्तिष्कमा धन, सम्पती, व्यापार, सुख सुविधा सबै बिर्सेर यस संकटतिर उन्मूख विश्वलाई केही योगदान दिनुपर्छ भन्ने भावना र जोसका साथ ई.सं. १८६३ अक्टोवर २० मा अन्तर्राष्ट्रिय रेडक्रसको स्थापना गरे ।
रेडक्रस अन्य गैरसरकारी संस्था भन्दा भिन्न प्रकृतिको गतिविधिबाट सञ्चालन भइरहेको छ । अन्य संघ–संस्थाको कार्यक्षेत्र तीनिहरूको विधान र संस्था दर्ता ऐन बमोजिम हुन्छ भने नेपाल रेडक्रसको कार्यक्षेत्र संस्थाको विधान रणनीति जेनेभा महासन्धी बमोजिम हुन्छ । यसको कार्यक्षेत्र शान्तिकालमा सामुदायिक विकास र युद्द वा द्वन्द्वमा तटस्थ निष्पक्ष भएर मानवीय सेवा गर्नु हो ।
रेडक्रस अभियानका सात सिद्दान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता रहेका छन् । रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई विना भेदभाव सहयोग पु¥याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस मानवीय विपत्तीलाई कम गर्न प्रयत्नशील रहन्छ । रेडक्रसले राष्ट्रियता, जाति, धर्म, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । रेडक्रस अभियानले सम्बन्धित राष्ट्रको ऐन कानुन पालना गरी मानवीय सेवा कार्यमा सदैव सहयोग गर्दछ । नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । रेडक्रसले विपद् पूर्वतयारी स्वरूप विभिन्न स्तरका तालिम दिनुका साथै समुदायस्तरका स्वयम सेवकहरू उत्पादन गरी उपशाखामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । हरेक जिल्लामा विपद् राहतकोष स्थापना गरी राहत सामग्रीको व्यवस्था, उद्दार तथा राहत सामग्रीको पूर्व तयारी गरिएको हुन्छ । आफ्नो क्षेत्रमा पर्ने विपत्तिहरूमा उपशाखाका तालिम प्राप्त स्वयम्सेवकहरूले पहिलो उद्दारकर्ताको रूपमा सेवा पु¥याइ थप राहतका लागि जिल्ला शाखामा सिफारिस गर्ने गरेका छन् ।
केही वर्ष अगाडिदेखि नेपाल रेडक्रसले सेवा र विकासमूलक गरी दुवै प्रकारका सेवाहरू गर्दै आइरहेको छ । एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, मोतियाबिन्दुको अप्रेशन लगायतका आकस्मिक सेवाहरू प्रदान गरेको छ भने समुदायमा आधारित आँखा अस्पताल, खानेपानी, आधारभूत स्वास्थ्य हेरचाहा, शरणार्थी व्यवस्थापन, महिला सशक्तीकरण, समुदायको क्षमता अभिवृद्धि, एचआइभी र एड्स रोकथाम, मानवीय मूल्यको प्रदर्शन, सरसफाइ, दुव्र्यसन लगायत विभिन्न गतिविधिहरूमार्फत् सरकारको विकास निर्माणमा सामुदायिक विकास कार्यक्रम सुरू गरेको छ । नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ३३ बजे