२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

कन्काई र रतुवामा तीन जनाको मृत्यु, ५१ परिवार प्रभावित, खयरबारीमा जैविक तटबन्धन गर्न निर्देशन



दमक / भारी बर्षासँगै झापामा विभिन्न खोला नदीमा आएको बाढीका कारण जनजिवन प्रभावित बनेको छ । कतिपय स्थानमा डुबान हुँदा सर्वसाधारणलाई अन्य सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम पनि भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज १ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगा बथानका कूल ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरुका घरमा बाढी पसेपछि प्रत्यक्ष प्रभावित भएका हुन् भने आसपास क्षेत्रका बासिन्दा त्रासमा परेका छन् ।

झापा गाउँपालिका र गौरीगञ्ज १ मा यस बर्षको बाढीका कारण तीन जनाको मृत्यु भइसकेको छ भने एक जना बालक अझै बेपत्ता छन् । झापा २ मा सानो माई खोलामा डुबेर आज एक जना बालकको मृत्यु भएसँगै यहाँ मृत्यु हुनेको संख्या तीन पुगेको हो । आज मृत्यु हुनेमा झापा गाउँपालिका २ का रहमान आलम मियाका ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाईते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । यस अघि सोही ठाउँका एक जना र गौरीगञ्ज १ का एक जनाको मृत्यु भइसकेको छ भने गौरीगञ्ज १ का एक जना १२ बर्षिय बालक कमल बनियानी खोलामा डुबेर वेपत्ता छन् ।

त्यसैगरी रतुवा खोलामा आएको बाढीले कटानको जोखिम बढाएपछि झापाको कमल गाउँपालिका वडा नं ६ खयरबारीमा आज कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साह, सचिव पारसमणी राईसहित रेडक्रसकर्मीको टोली प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् ।

अध्यक्ष राईले सो क्षेत्रमा खोलाको कटानको जोखिम न्युनिकरण गर्न अस्थाई जैविक तटबन्धन ( बाँसको पाइलिङ)का लागि आवश्यक निर्देशन दिएका स्वीकय सचिव रोशन दाहालले जानकारी दिए ।

प्रभावित क्षेत्रमा आवश्यक तटबन्धनका लागि बजेटको व्यवस्था गरिएको हुँदा सो कार्यमा खटिन सम्बन्धित पक्षलाई निर्देशन भएको छ–दाहालले भने । खयरबारी क्षेत्र २०५० को दशक अघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ । बर्षेनी खोलामा आउने बाढीका कारण खयरबारी र आसपास क्षेत्र प्रभावित हुँदै आएको छ ।

रतुवाका कारण २० बर्ष अघिदेखि विस्थापनमा परेका कैयौं बाढी पीडित परिवारका लागि तत्काल बैकल्पिक बसोबासको व्यवस्था मिलाइएको भएपनि स्थायी बसोबासको लागि जग्गाको स्वामित्व पाउन सकेका छैनन ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ९ : ५४ बजे