२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

गौरीगंजको नीति तथा कार्यक्रम प्रस्तुत, कृषि क्षेत्रलाई पहिलो प्राथमिकता



गौरीगंज १०, असार / गौरीगंज गाउँपालिकाको पन्ध्रौ गाउँसभा मार्फत आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज आइतबार प्रस्तुत भएको छ ।
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले पन्ध्रौ गाउँसभामार्फत आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत भई नीति तथा कार्यक्रम पारित भएको हो ।

गौरीगंज गाउँपालिकाको ‘कृषिमा उन्नत प्रविधि, गौरीगंजवासीको समृद्वि ’ भन्ने नारालाई मुख्य नारा मानी त्यस अनुरुप नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी कृषिमा यन्त्रीकरणको माध्यमबाट व्यवसायीकरणतर्फ उन्मुख गरिने समेटिएको छ ।

गाउँपालिका स्तरिय गौरवका योजनाहरुको माध्यमबाट सडक सञ्जाललगायत अन्य पूर्वाधारजन्य दीगो विकासमा जोड दिइएको छ । गाउँपालिकाबासीको सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्वि गरिने छ भने गुणात्मक शिक्षाको सुनिश्चित गर्न शैक्षिक विकासमा जोड दिइने नीति लिइएको छ । समयमै वडास्तरिय योजनाहरु समयमै सम्पन्न गर्ने वडालाई पछिल्लो आर्थिक वर्षको वजेटमा तोकिएबमोजि थप बजेट उपलब्ध गराउने नीतिमा समेटिएका छन् । नमुनाको रुपमा कुनै एक आधारभूत विद्यालयमा विद्यार्थीहरुको ई – हाजिरी लागु गरिने, कृषि सिंचाईलाई थप विस्तार गरी कृषि विद्युतीकरण ( विद्युत पोल र तार विस्तार) गरिने, ‘एक वडा एक बाली’ उत्पादनमा जोड दिने,गाउँपालिकाले स्थानियस्तरमै फलफूल, तरकारीलगायतका विरुवा उत्पादन गर्न कृषि समुहलाई नर्सरी अनुदानको लागि व्यवस्था गर्ने नीति लिइएको छ ।

सभामा गौरीगंज गाउँपालिककी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. २ का अध्यक्ष किनालाल राजवंशी, वार्ड नं.३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं. ४ का वडा अध्यक्ष फेका गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह, वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवलगायत सम्पुर्ण वडा सदस्यहरुको उपस्थिती थियो । प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, अधिकृत विरेन्द्र खड्का, योजना शाखा प्रमुख नारायण प्रसाद चँदरालगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति थियो भने वडा सदस्यहरु गंगा राजवंशी, राजभक्त सुनुवार, राम वहादुर राजवंशी र लोकेन्द्र प्रसाद ताजपुरियाले नीती तथा कार्यक्रमको केही बुँदाहरुमा संशोधन गरी थप गर्नुपर्ने धारणा राखेका थिए ।

पन्ध्रौं गाउँसभामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेकी थिईन ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक गरेको धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताको आधारमा निरन्तरता दिएको छ । सामाुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षालाई निरन्तरता दिई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था, छोरीलाई आर्थिकरुपमा सक्षम बनाउन छोरी जन्मेपछि छोरीको नाममा बाल खाता वचत कार्यक्रम, अस्पतालमा थप उपकरणसहित २४ घण्टे सेवा सञ्चालन, न्यायिक सेवालाई व्यवस्थित गरी क्षमता अभिवृद्व गर्ने, खानेपानी पाईप विस्तार, विपन्न परिवारलाई निशुल्क विमा कार्यक्रम, गाउँपालिकाद्वारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नु पर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई गौरीगंज अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्धि गराउने र अस्पतालले रेफर गरेको दमकको अस्पतालहरुसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवाउपलब्ध गराउने, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौं , कृषि विद्युतीकरण, सामुदायिक विद्यालयका कक्षा ९ का छात्रा विद्यार्थीलाई साइकल वितरण, सामुदायिक विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई निशुल्क शिक्षा लगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएको छ । १५ औं गाउँसभाको अर्को वैठक असार १६ गते बस्ने गरी सकिएको छ । गौरीगंजको आगामी आर्थिक वर्ष २०८१/८२ काे प्रस्तावित बजेट प्रस्तुत भएन ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ७ : ३७ बजे