६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

गौरीगंज गाउँपालिकासहित एक सय सातवटा स्थानीय तहमा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालन गरिने , झापामा मात्र कुल बजेट १४ करोड ८४ लाख



बनियानी (झापा), १३ वैशाख/ झापासहित तीन जिल्लामा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालनमा हुने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ देखि झापा, तेह्रथुम र पाँचथरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन ल्याउन लागेको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले कार्यक्रम सञ्चालन गर्नका लागि झापाका १५ वटै पालिका जनप्रतिनिधि र कर्मचारीलाई सहभागी गराएर कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रमसमेत गरिसकेको मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले करुणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेशसँग सहकार्य गरेर कोशी प्रदेशका ११ जिल्लाका एक सय सातवटा स्थानीय तहमा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालन गरिरहेको छ । झापाका १५ वटा पलिकामा कार्यक्रम सञ्चालन गर्न पहिलो वर्ष कुल रु १४ करोड ८४ लाख ७२ हजार लागत अनुमान गरिएको छ । जसमा तीनवटै साझेदार संस्थाले समान रु चार करोड ९४ लाख ९० हजारलगायत सहभागिता जनाउनुपर्ने सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख फणिन्द्र खत्रीले बताउनुभयो । अपाङ्गता रोकथामसँगै अपाङ्गता भएका मानिसलाई सम्मानपूर्वक जीवन बिताउन मद्दत गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको करुणा फाउण्डेशनका योगेन्द्र गिरीले बताउनुभयो । “स–साना कुराले पनि मानिस अपाङ्गताको सिकार हुनुपरेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य सचेतना अपनाउन सके अपाङ्गताको समस्या धेरै समाधान गर्न सकिन्छ ।” फोलिक एसिडको चक्की सेवन गरेमात्र पनि अपाङ्गता भएको शिशु जन्मने खतरा ९५ प्रतिशत कम हुने उहाँले बताउनुभयो । नेपालमा १० हजार शिशु जन्मिँदा ५९ दशमलव नौ प्रतिशत बालबालिका जन्मदोष लिएर जन्मने गरेका छन् भने प्रतिहजार जीवित शिशुमध्ये २१ जना एक महिने शिशुको मृत्यु हुने गरेको छ । जसको चौथो मुख्य कारण जन्मदोष रहेको छ ।

झापामा २४ हजारमा अपाङ्गता

झापामा करिब २४ हजार जना मानिसमा अपाङ्गता रहेको पाइएको छ । जिल्लामा १५ वटा पालिकामा २३ हजार नौ सय ३५ जना मानिसमा अपाङ्गता रहेको कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले जानकारी दिनुभयो । जिल्लामा ११ हजार एक सय ९५ महिला र १२ हजार सात सय ५७ जना पुरुषमा अपाङ्गता भएको उहाँले बताउनुभयो । जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् छ लाख ६१ हजार छ सय १२ र कोशी प्रदेशमा कुल जनसङ्ख्याको दुई दशमलव चार प्रतिशत एक लाख १९ हजार ७४ जनामा अपाङ्गता रहेको छ । प्रदेश सरकारबाट नीतिगत व्यवस्था प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क स्वास्थ्योपचार थालेको कोशी प्रदेश सरकारले अपाङ्गता रोक तथा पुनःस्थापनाका लागि विभिन्न छवटा नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको प्रदेशस्तरीय समिति गठनसम्बन्धी कार्यविधि २०७६, अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन निर्देशिका २०७६, समुदायमा आधारित पुनःस्थापना सहजकर्ता छनोट मार्गदर्शन २०८०, अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन मार्गदर्शन २०८०, अपाङ्गता सहायता कक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण एवं संस्था सुदृढीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन २०७९ निर्माण गरिएको सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईले जानकारी दिनुभयो । कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो । रासस

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : १३ बजे