१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

नेपाल पत्रकार महासंघ झापाद्वारा एक करोड रुपैयाँको पत्रकार सहारा उपचार अक्षयकोष घोषणा



गौरीगंज ३ , बैशाख / नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ। सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् ।

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा सोमबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी महासंघ झापा शाखाले उपचार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको घोषणा गरेको हो ।

सहारा नेपाल साकोसले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन्।

उक्त अवसरमा कोषमा सहयोग गर्ने दातालाई झापा शाखाले सम्मान गरेको छ । दाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. यादव र नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सम्मानपत्र प्रदान गरेका थिए।

कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ। त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट प्राप्त आम्दानीले पत्रकारहरूलाई सहयोग गर्ने गरेको र थुप्रै पत्रकारहरुले कोषबाट लाभ प्राप्त गरिसकेको अध्यक्ष गिरीले जानकारी दिए।

सोही कार्यक्रममा पत्रकार महासंघ झापा शाखाको स्तर वृद्धि गरिएको भवनको डिजिटल उद्घाटनसमेत गरिएको थियो।
कार्यक्रममा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार , कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मतकुमार कार्की , उद्धव थापा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए।

महासंघ झापा शाखाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई सचिव डिकेश लामाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ३६ बजे