३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

आठमौजा छोटी भन्सारको प्रधानमन्त्रिलाई मृत्यु शैय्याबाट प्रेस नोट



प्रेस नोट

सम्मानिय प्रधानमन्त्री ज्यु,

सिंहदरबार, काठमाडौं मिति ः २०८०/०९/१२

महोदय,

झापा जिल्ला गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीको मुटुमा ठिङ्ग उभिएको म एउटा जिउँदो लाससरी – आठमौजा छोटी भन्सार । बाहिरी आवरण हेर्दा झुंस परेको, लेउ र रङ्ग खुइलिएको पुरानो भवन कसैको दृष्टि ममा पर्दा खिन्न बोध हुने, त्यसरीनै भित्री भाग हेर्दा त झन मन न्यास्रो पार्ने अनि राज्यप्रतिको विद्रोह भाव पैदागर्ने ममा आज राज्यको किन नजर पुगेको छैन ? भन्ने प्रश्न मनबाट बाहिर फकाल्दै गर्दा ……

आफ्नो फुलेको कपाल, झुंस परेको दाह्री मसार्दै मैलै भन्दै गर्दा करिब आफुसंगै जन्मेको नेपाल वैंक लिमिटेड कुनै समयमा खण्डर बनेको हाल चिटिकिक्क सुविधाजनक भवनमा छ । गौरीगंज खजुरगाछी स्वास्थ्य केन्द्र हाल गौरीगंज अस्पताल भव्य भवनमा अवस्थित छ । छेउबाट पूर्व पश्चिम छिछोलेको हुलाकी मार्ग अहिले कालो पत्रे भएको छ । इलाका प्रहरी कार्यालय गौरीगंज आधुनिक नयाँ भवनमा छ । कोटेश्वर शिवालय मन्दिर रङ्गरोगन, घेराबेरासहित थप नयाँ भवन छ । अनि गौरीयाँ खोलाको पुल, छेउ आँगनको पुछारमा रहेको शसस्त्र सिमा सुरक्षा वलको भवन सबैका सबै चिटिक्क नयाँ घर भवन बनाइसकेको अवस्थामा मेरो घर (छोटी भन्सार)को चाहिँ अवस्था कसरी भयो ? त्यो त त्यो भर्खरै ट्राफिक भवन निर्माणका लागि काम शुरु भएको देख्दा त झन मन मेरो चिसिदै हृदयघात त हुने होइन भन्ने आवास भइरहेको छ । मनमा खिन्नता बोध भइरहेको छ । यो परिदृश्यले मनमा रोग, भोग र विपन्नताको तस्वीर मनमा गढेको छ । कोरोनाकाल देखि मेरो परिवार (कर्मचारी) उजाड भएको छ । त्यसअघि एक जना सुब्बा सरहको कर्मचारीसहित कार्यालय सहयोगी थिए मेरो परिवारमा । उनीहरुले महिनाको ६० ÷७० हजार रुपैयाँ राजस्व उठाउँथे त्यो बेला, कमाएर दिएकै थिएँ । त्यसैले मैले आफुले आफुलाई भन्ने गरेको छु तपाईको सरकारको सहयोगी हुँ घर ( सरकार) चलाउन धेरबहुत कमाएर पैसा राजस्व दिएकै थिएँ । अहिले कोही छैन मेरो परिवारमा । बस म गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजारको मुटुमा ठिँङ उभिएर न्यास्रो अनुहार भंmुस परेको दाह्री, च्याउरी परेको गाला , सुनसान भुत बगांलामा बुढौलीपनको स्पष्ट आवास दिने यो बुढौली शरीरले के नै गर्न र भन्न सक्छु र ? मलाई पुर्नस्थापना अर्थात पुर्नजन्म दिनुस भन्नु बाहेक । मेरो यति नै छ हजुरमा बिन्ति बस ।

सुन्दैछु मेरो करिब ३ किलोमिटर दक्षिण भारतको सिमासंगै रहेको फत्तेपुरको भारतीय बजारमा हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुले दैनिक १६ लाखको किनमेल गर्दारहेछन् । आउजाउँ गर्न र सवारी साधन ओहोरदोहर गर्न बहुतै समस्या छ । कस्तो विडम्बना ! अब मेरो के नै आवश्यक छ र ? सरकार र नागरिकको नजरमा प्रयोगविहिन भएको छु । अन्नतः मेरो भौतिक शरीरको संरचनासहित सांस पनि रोकिन धेरै समय छैन होला । मेरो मृत्यु निश्चित छ । म मृत्युशैय्याबाट यो छोटो प्रेसनोट पठाईरहेको छु ।

बोधार्थ

गौरीगंज गाउँपालिकाको कार्यालय उही तपाईको सहयोगी

आठमौजा छोटी भन्सार

गौरीगंज गाउँपालिका वार्ड नं. ६, झापा कोशी प्रदेश

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : २४ बजे