१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजको महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण



गौरीगंज १२, कार्तिक / गौरीगंज गाउँपालिका वार्ड नं. १ को महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको अवसरमा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीलाई संयुत्तरुपमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् । झापाली समाज अष्ट्रेलियाको अनुदानमा उपलब्ध भएको उक्त एम्बुलेन्स ग्रामीण क्षेत्रका सर्वसाधारणलाई एम्बुलेन्स सुविधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने समस्याको अन्त्य भएको र महँगो खर्च गर्नुपर्ने समस्याबाट मुक्त हुने वडा अध्यक्ष राजवंशीले विश्वास व्यत्त गरेका थिए । ‘वडा नं.१ सडक सञ्जालले जोडिएको भए पनि पर्याप्त गाडीहरू नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन नसकिने बाध्यता थियो। अब यहाँका बिरामीहरूलाई ठूलो राहत मिल्ने विश्वास लिएको छु,’ – वडा अध्यक्ष राजवंशीले भने । एम्बुलेन्स प्रदान गर्ने कार्यमा सहयोग पुर्याउने नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा, पूर्व मुख्यमन्त्री तथा नोपली कांग्रेस पार्टीका कोशी प्रदेश सभापति उद्वाव थापा, नेपाली कांग्रेस झापा सभापति देउमान थेवे, प्रधानमन्त्री कार्यालयका उपसचिव तथा श्रम मन्त्रालयका पूर्व सचिव तीर्थ खनाल, रंगियाथान निवासी प्रेम पौडेललाई महाभारा स्वास्थ्य चौकीले धन्यवाद ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष दिपकप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा स्वागत उपाध्यक्ष दीपक चुडालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए ।
समाजको बिर्तामोडमा कात्तिक ११ गते सम्पन्न चौथो महाधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको हो । आज १२ गते बिर्तामोडमा भएको महाधिवेशनको खुला सत्रमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजको नव कार्यसमिति पदाधिकारीहरूको शपथ ग्रहण भएको छ । दुई वर्षे कार्यकालका लागि अध्यक्षमा मुकुन्द ढुङ्गानासहितको टिमले आज शपथ लिएको हो ।
सर्वसम्मत निर्वाचित भएका अध्यक्ष ढुङ्गानासहितको टिमलाई निर्वाचन प्रमुख समाजका संस्थापक अध्यक्ष तथा संरक्षक दिनेश पोखरेलले नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका हुन ।

अध्यक्षमा मुकुन्द ढुङ्गाना झापा चन्द्रगढीका बासिन्दा हुन भने हाल उनी अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी यसअघि झापाली समाज युएसएको दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन् ।
त्यस्तै, समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन् । बाह्रदशीका चौलागाईं कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उपाध्यक्षमा चन्द्रगढीका भूपाल सिटौला निर्वाचित भएका छन् उनी अष्ट्रेलियामा शैक्षिक व्यवसाय गर्दै आएका छन् ।
त्यस्तै, उपाध्यक्षमा झापा गाउँपालिकाका चूडामणि कार्की निर्वाचित भएका छन् । उनी कतारमा बस्दै आएका छन् । महिला उपाध्यक्षमा माल्टामा रहँदै आएकी शर्मिला बस्नेत चयन भएकी छन् ।
त्यस्तै, समाजको महासचिवमा नवीन पोखरेल पुनः सर्वसम्मत भएका छन् । बाह्रदशीका पोखरेल कतारमा वैदेशिक रोजगार सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् । समाजको सचिवमा साउदी अरेबियामा बस्दै आएका रविन गिरी चयन भएका छन् ।
त्यस्तै, ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका उमेश पोखरेल, सहसंयोजकमा निराजन प्रसाईं, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरेबियाका राजेन्द्र थापा, सहसंयोजकमा कतारका भवानी कोइराला चयन भएका छन् ।
एसिया पेसिफिक क्षेत्रीय संयोजकमा जापानका मेघराज नेपाल, युएसएका संयोजक प्रसन्न संग्रौला चयन भएका छन् । समाजको सदस्यमा साउदीबाट देवीबहादुर कार्की र कतारबाट उत्तम गुरुङ चयन भएका भएका छन् ।
बाँकी रहेका कोषाध्यक्ष, एक सचिव, प्रवक्ता र सदस्यहरू कार्यसमितिको बैठकले चयन गर्ने महासचिव पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : १३ बजे