१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धरानमा निषेधादेश जारी, नाका र सीमामा कडाई



विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधादेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले शनिबारबाट निषेधादेश जारी गरेको हो । शुक्रबार (आज मध्यराति) १२ बजेदेखि भोलि (शनिबार) राति १२ बजेसम्म निषेधादेश लगाइएको हो ।

जिल्ला प्रहरी प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधादेश आदेश जारी गरेकी छिन् । त्यससँगै नाकामा कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार, धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । उनका अनुसार, धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ ।

ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन । धरानवासीले बाहिरबाट कोहि पनि प्रदर्शनका नाममा धरान नआउन आग्रह गरिसकेका छन् ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको हो । धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : २८ बजे