१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा डेंगी सक्रमणबाट तीनको मृत्यु , ७३९ संक्रमित( कुन पालिकामा कति संक्रमित ?)



झापा, साउन २७ । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै गएको छ ।

साउनयता तीब्र रुपमा फैलिरहेको डेंगी संक्रमणबाट झापामा तीनजनाको मृत्यु भइसकेको छ । बिर्तामोडमा दुई र दमकमा एकजनाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । साउनको पहिलो साता बिर्तामोड– ५ की ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ । त्यस्तै साउन १९ गते डेंगी संक्रमणबाट बिर्तामोड ५ कै ४४ वर्षिय बिचन्द्र लावतीको मृत्यु भएको छ ।

त्यस्तै डेंगी संक्रमणबाट दमकमा पनि एकजनाको मृत्यु भएको छ । साउन ९ गते पंचमुखी फर्माका संचालक ६८ वर्षिय ऋषिराज पराजुलीको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा औषधी व्यवसायी पराजुलीको मृत्यु भएको उनले जानकारी दिए । झापामा संक्रमितहरु तीब्र रुपमा बढ्ने क्रममा साउन २६ गतेसम्म संक्रमितहरुको संख्या ७३९ पुगेको छ । ३१९ महिला र ४२० जना पुरुष संक्रमित भएका हुन् । त्यसमध्ये सबैभन्दा बढी संक्रमित दमकमा देखिएका छन् । दमकमा ४४४ जना संक्रमित पुगेका छन् । त्यसपछि बिर्तामोडमा डेंगी संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या १७७ पुगेको छ । त्यसपछि भद्रपुर ,बुद्धशान्ति ,मेचीनगरमा डेंगी संक्रमण देखिएको छ । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा डेंगी बढी फैलिएको हो । गौरीगञ्ज , बाह्रदशी , हल्दिवारी र कचनकवलमा डेंगी संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए । जिल्लाका विभिन्न अस्पतालमा १४० जना डेंगी संक्रमित भर्ना भएका छन् । त्यसमध्ये ९९ जना निको भएर घर फर्किएको र ४१ जना उपचाररत रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिए ।

डेंगी रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकाले घरवरिपरि सफा राख्न, खुल्ला ठाउँमा पानी भरेर नराख्न र खाल्डाखुल्डीमा जमेको पानी हटाउँदा संक्रमण फैलिने कम सम्भावना हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ३१ बजे