१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कमलमा विवादित र घोटला प्रकरणमा जोडिएका योजनाहरुको छानबिन गर्न सात दलको माग



दमक/ झापाको कमल गाउँपालिकामा क्रियाशील सात दलले साझा मुद्धाका रुपमा पालिका भित्रका विगतदेखि अहिले सम्म सञ्चालित योजना तथा घोटला प्रकरणबारे सर्वदलीय संयन्त्र बनाएर छानबिन गर्न माग गरेका छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त रुपमा कमल ५ स्थित साधुहोली सिमसारका नाममा भएको भनिएको विवरण सर्वजनिक सुनुवाई मार्फत सार्वजनिक गराउन, सोही योजनामा यसअघि गाउँपालिकाबाट दुई पटक सम्म विनियोजित बजेटमा भएको अनियमितता र उपलब्धीको यथार्थ विवरण सार्वजनिक गर्न साथै २०७९ भन्दा अघि सम्पन्न भएका विभिन्न योजनाहरुको नाम तोकेरै छानबिन गर्न ति दलहरुले माग गरेका हुन ।

सोमबार गाउँपालिका कार्यालयमा पुगेका ७ दलीय प्रतिनिधिहरुको संयुक्त टोलीले कमल २ को तोपगाछी (क्याम्पा) खानेपानी स्कीम २, ढयाङग्रीको भ्यू टावर पूल, कमल ३ को पर्यटकीयस्थल बनाउन भनि सञ्चालन गरिएको बाल्मिकी आश्रम, कमल ५ मा बाँसद्धारा निर्मित कोरोना विशेष उपचार केन्द्रमा भएको बजेट विनियोजन र सोको कार्यान्वयनमा भएको यथार्थ छानबिन गरि सार्वजनिक गर्न माग गरेका हुन । ७ दलको तर्फबाट गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई बुझाइएको ज्ञापन पत्रमा सिम्लेमा विरबहादुर चेम्जोङको अध्यक्षतामा बनेको वन उपभोक्ता समितिको विगठन, वन फँडानी गरि त्यहाँबाट उठाइएका तीन ट्रयाक्टर टिक काठका गोलीया कहाँ र कुन अवस्थामा छ भनि प्रश्न समेत गर्दै छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरिएको छ ।

नेकपा एमाले बाहेकका ति दलहरुको संयुक्त ज्ञापन पत्रमा कांग्रेसका तर्फबाट कमल गाउँसमितिका कार्यवहाक सभापति पदम निरौला, माओवादी केन्द्रका तर्फबाट गाउँ कमिटी अध्यक्ष रविन गुरुङ, नेकपा एसका तर्फबाट अध्यक्ष होम बराल, जसपाको तर्फबाट अध्यक्ष प्रेम राई, राप्रपाका तर्फबाट अध्यक्ष युवराज खडका, रास्वपाका तर्फबाट अध्यक्ष केदार चापागाइँ र सलोरामका तर्फबाट अध्यक्ष तेजु आङदेम्बेले हस्ताक्षर गरेका छन ।

सो अवसरमा ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष राईले भ्रष्टाचार र अनियमितता बिकासका बाधक भएको बताउँदै भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति अनुरुप स्थानीय सरकारले काम गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष राईले दलहरुको सक्रियता र खबरदारीले स्थानीय सरकारको कार्यसञ्चालनमा सकारात्मक सहयोग पुग्ने बताउँदै सबै बिषयहरुको निष्पक्ष , पारदर्शी र स्वतन्त्र ढंगबाट छानबिन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । दलहरुलाई रचनात्मक सहयोगका लागि पनि उनले आग्रह गरेका छन ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : १४ बजे