१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोशी प्रदेशको मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश प्रमुखको आह्वान



मोरङ, १२ साउन २०८० । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न दलहरूलाई आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुख खापुङले एक विज्ञप्ति जारी गर्दृ प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले कांग्रेसका मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्तिलाई बदर गरिदिएपछि खापुङले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु गरेका हुन् । मुख्यमन्त्री दाबीका लागि साउन १६ गते मंगलबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

नेकपा एमालेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले थापाको नियुक्ति प्रक्रिया अवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । जवकि थापाको नियुक्तिमा सभामुख बाबुराम गौतमले पनि पक्षधरता देखाएका थिए ।

सभामुखको भूमिकालाई लिएर आलोचना हुनुका साथै सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रक्रियालाई नै बदर भनी फैसला गरिदिएपछि मुख्यमन्त्री चयनका लागि नयाँ प्रक्रिया सुरु गरिएको हो ।

‘सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेश बमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा साउन १७ गतेभित्र नेपालको संधावनको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नू भन्ने परमादेश जारी भएकाले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८० साउन १६ गते मंगलबार ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले आह्वान गर्नुभएको छ,’प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ३० बजे