१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकको ऊँ मेचीमा बाँझोपन विशेष स्वास्थ्य शिविर




दमक २०, बैशाख / बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविर हुने भएको छ ।
दमक ७ मा सञ्चालित ऊँ मेची अस्पतालमा २९ वैशाखमा हुने शिविर भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको विशेष सहयोग रहने आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
शिविरमा विवाह भई सन्तानको इच्छा हुँदा हुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारविधि र पद्धतिका बारेमा समेत जानकारी गराइनेछ । शिविरमा सो सेन्टरबाट आउने विशेषज्ञ डाक्टरहरु सिफली वंशल माधव, डा. प्रसिञ्जितकुमार रोयसहित ऊँ मेची अस्पतालका डाक्टरहरुबाट समेत सेवा प्रदान गरिनेछ ।
अस्पतालका चिकित्सक शंकरप्रसाद हुजदारले यो एक किसिमको उपचार तथा परामर्श शिविर भएको उल्लेख गरे । उनका अनुसार नेपालमा बैदेशिक रोजगारको समस्या र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निसन्तान हुने तथा प्रजनन क्षमतामा ह्रास आएको छ । करिब १४ प्रतिशतमा निसन्तानको समस्या देखिएको र यो दर बर्षेनी बढिरहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरका मृत्युन्जय घोषले बताए ।
२०७६ सालमा समेत सो सेन्टरले दमकमा सोही प्रकृतिको शिविर सञ्चालन गरेको थियो । सो शिविरबाट २०० जनाले सेवा लिएका थिए । उनीहरुमध्ये कतिपय जोडीहरुले ६ महिना भित्रै प्रतिफल प्राप्त गरेका र कतिपय बच्चा पाउने प्रकृयामा रहेको बताइएको छ । कोरोना संक्रमणका कारण २०७६ पछि यस किसिमको शिविर सञ्चालन गर्न नसकिएको बताउँदै अहिले सहज परिस्थिति भएपछि यहाँको मागलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको अस्पतालका डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ७ : २२ बजे