१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पूर्वमन्त्री डा. रिजालले दमकको बाल अस्पताललाई दिए ५० लाख



दमक १६, बैशाख / दमकमा  सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन ।
डा. रिजालले आफना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्यश्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको बैकिङ चेक आज शनिबार मोरङको रतुवामाईमा आयोजित कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गरेका छन ।
रतुवमाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवहाक प्रमुख भिमप्रसाद पौडेलको रोहबरमा रतुवामाई ७ स्थित एक धार्मिक संस्थाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच चेक हस्तान्तरण गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सो क्षेत्रका पूर्व सांसद डा रिजालले बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालको प्रशंसा गरे ।
त्यसअघि अस्पतालको स्थलगत निरिक्षण समेत गरेका थिए । सो अवसरमा नेता डा. रिजालले समाजका लागि दिने योगदानले भावी सन्ततीहरुको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने बताए ।
सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउण्डेशनबीच सिमान्तकृत एवं विपन्न समुदायका बालबालिकाहरुको स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर समेत भएको छ । कार्यक्रममा डा. कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुरयाउनकै लागि देशका सात वटै प्रदेशमा कम्तीमा एक एक वटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा समेतसँगको सहयोगमा दमकमा सञ्चालन गरेको बालबालिकाका सबै रोगहरुको उपचार गर्ने विशिष्ट किसिमको किओच दमक बाल अस्पतालमा विशेषज्ञ डाक्टरहरुको सेवा समेत सुलभ र सहजमुल्यमा प्रवाह भइरहेको छ । सो अस्पतालमा बालबालिकाहरुको इमजेन्सी उपचार तथा ओपिडी जाँच तथा उपचार सेवा चलिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : २३ बजे