१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले गर्याे शहीदलाई सम्मान



झापा, २० फागुन / कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले शहीदलाई सम्मान गरेको छ ।

शहीद सप्ताहको अवसरमा आज झापाको बिर्तामोडस्थि गौरीशंकर स्मृति प्रतिष्ठानमा ‘शहीद सम्मान कार्यक्रम’को आयोजना गरी जनयुद्धका क्रममा सहादत प्राप्त शहीदलाई सम्मान गरेको हो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शहीद परिवारका सदस्यलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो ।

मन्त्री मोदीले झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा र सप्तरीको आधा भूभाग मिलाएर कोचिला राज्य घोषणा गर्नुपर्ने जोड दिनुभयो । उहाँले कोचिला समुदायलाई यस मुद्दामा एक भएर अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा शहीद तथा बेपत्ता चतुरमान राजवंशी, शहीद शम्भू राजवंशी, सुनिल राजवंशी, टोपलाल राजवंशी, टिकाराम मेचे, चैतलाल मेचे, झरीलाल राजवंशी, होलाई राजवंशी, टेकबहादुर राजवंशी, हसिलाल राजवंशी, मिसि धिमाल लगायतका परिवारलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री मोदी, कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालकी केन्द्रीय अध्यक्ष ममता राजवंशी ताजपुरिया लगायतले सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा विजयी कोचिला मोर्चामा आबद्ध भद्रपुर नगरपालिका–४ का वडाध्यक्ष हंशधर राजवंशी, हल्दिबारी–२ का वडाध्यक्ष सुकलाल राजवंशी, गौरीगञ्ज–२ का वडाध्यक्ष किनालाल राजबंशी र गौरादह–८ का वडाध्यक्ष गणेश राजवंशीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता झलक सिंह दर्लामी, पूर्णसिंह राजवंशी, लक्ष्मी न्यौपाने, राजु चुडाल, राजु आचार्य (अग्नि), मोहन टुडू लगायतको आतिथ्य रहेको थियो ।
मोर्चाका सचिव कृति कुमार राजवंशीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत पुकारचन्द्र राजवंशी गर्नुभएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ०० बजे