१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली कांग्रेस झापा कार्यतालिका बनाएर गाउँ जादैँ



विर्तामोड २, फागुन / नेपाली कांग्रेस झापाले ६ महिने कार्यतालिका बनाएर जिल्लाका १ सय ३१ वटै वडामा प्रतिनिधिहरु खटाएको छ ।
झापा कांग्रेस सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको वैठकले जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरुलाई वडा र क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो । खटिएका प्रतिनिधिहरुले वडा, गाउँ नगर, प्रदेश सभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रको सम्मेलन गराउने , वार्षिक क्यालेन्डर अनुसार प्रशिक्षण, अभिमुखीकरण कार्यक्रमहरु सवै वडा  र ११३१ टोल समितिमा सञ्चालन गर्नु गराउनु पर्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय मेलमिलापदवस, सहिद दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवसका कार्यक्रमहरु पार्टीका सबै तह र संरचनाहरुमा रक्तदान, वृक्षरोपण, विचार गोष्ठी, सरसफाई,  , जनचेतना मूलक र विकाससंग सम्वन्धि जन सेवाका कार्यक्रमहरु कांग्रेसले सञ्चालन गर्ने भएको छ ।

त्यसैगरी वीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुर्वणसम्शेर, गिरीजाप्रसाद कोइराला, सुशील कोइराला लगायतका प्रजातन्त्र वादी अग्रणी नेताहरुको सम्झना र सम्मानमा स्मृति दिवस र जन्म जयन्तिहरु सबै तहमा मनाउने , अग्रज प्रजातन्त्र सेनानी , ज्येष्ठ नागरिकहरुको सम्मान र सहभागीता मूलक विकासका कार्यक्रमहरुलाई जनस्तरमा सञ्चालन गर्ने , स्थानीय तहका जनप्रतिनिधि र पार्टीका विभिन्न तहको संरचनामा रहेका पदाधिकारी सदस्यहरुबीच आपसी सद्भाव, मेलमिलाप सहकार्य र सद्भावको भूमिका निर्वाहमा खटिएका प्रतिनिधिहरुले समन्वयको काम गर्नु पर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी जिल्लाको पार्टी संरचनाहरुको नियमित वैठकको नियमित मिति पनि झापा कांग्रेसले तय गरेको छ । जस अनुसर जिल्ला कार्यसमितिको बैठक प्रत्येक महिनाको २ गते क्षेत्रीय कार्य समितिको वैठक ५ गते प्रदेश सभा क्षेत्रीय कार्यसमितिको वैठक ७ गते, गाउँ नगर कार्य समितिको वैठक ११ गते हुने छ  भने वडा र टोल कार्य समितिको बैठक सम्वन्धि गाउँ नगर कार्य समितिले तोके बमोजिम हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : ११ बजे