१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा नेकपा एमाले र राप्रपाबीचको गठबन्धन व्यवहारमा भने निक्कै कच्चा



दमक/   चुनावी सरगर्मीले पूर्वी जिल्ला झापालाई निक्कै तताएको छ ।  २३ असोजमा उम्मेदवारहरुको मनोनयन दर्तापछि दलहरु र तिनका उम्मेदवार आन्तरिक चुनावी तयारीमा जुटेका छन ।

४ मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारीले यसकारण पनि झापा जिल्लामा सबैलाई आकर्षित गरिरहेको छ कि  प्रमुख दलका हेवीवेट उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन । 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एमाले नेता एवं पूर्व मन्त्री अग्नी खरेल लगायत हेविवेटहरुको उम्मेदवारीका झापा जिल्लाले सबैको ध्यान खिचेको हो ।

कांग्रेस – माओवादीसहितको संयुक्त गठबन्धन भर्सेस नेकपा एमाले – राप्रपा गठबन्धन चुनावी मैदानमा छन ।

देशभर एक्लै चुनाव लडने उदघोष गरेको नेकपा एमाले अन्तत पार्टी अध्यक्ष ओलीको जित कठिन बन्ने संकेत देखेपछि राप्रपासंगको तालमेलमा चुनावमा होमिएको हो । संयोग यो छ कि यि दुवै पार्टीका दुई शीर्ष नेताको गृह जिल्ला हो झापा । एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई जिताउने प्रयास स्वरुप भएको नेकपा एमाले र राप्रपाबीचको गठबन्धन व्यवहारमा भने निक्कै कच्चा देखिएको छ । 

उम्मेदवारी दर्ता र त्यसलगत्तै आयोजित चुनावी कार्यक्रमहरुमा नेता, कार्यकर्ताहरुको सहभागिता र सामाजिक सञ्जालहरुमा दुवै पार्टीका नेता, कार्यकर्ताहरुमा असन्तुष्टिले एमाले – राप्रपा गठबन्धन औपचारिकताका लागि मात्रै भएको पुष्टि हुन्छ ।

राप्रपासंगको गठबन्धनकै कारण एमाले भित्र झापामा पहिरो गएको छ । झापाली राजनीतिमा निक्कै चर्चामा रहेका युवा नेता डम्बरबहादुर गिरी र अर्जुनधारा नगरपालिकाका पूर्व मेयर समेत रहेका हरि रानाले पार्टी भित्र बिद्रोह गरेका छन ।
गिरीले पार्टी बचाउन भन्दै एमाले भित्रै विद्रोह गरेका हुन भने राना एमाले नेतृत्व निरंकुश र स्वैच्छाचारी देखिएको भन्दै पार्टी परित्यागसहित कांग्रेस नेतृत्वको गठबन्धनबाट झापा क्षेत्र नं २ मा उम्मेदवारनै बनेका छन ।

आफनो निर्वाचन क्षेत्र झापा ३ मा राप्रपासंग गठबन्धन गरेपछि असन्तुष्ट बनेका गिरीले एमाले राप्रपा गठबन्धनका उम्मेदवार राप्रपा अध्यक्ष लिङदेन विरुद्ध बागी उम्मेदवारी दिएर चुनावी कार्यक्रममा केन्द्रित छन ।

झापा हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएर लोकप्रिय बनेका गिरी गत स्थानीय निर्वाचनमा राप्रपाका रविन्द्र लिङदेनसंग कडा चुनावी प्रतिस्पर्धा गरेका नेता हुन । उनलाई हल्दीबारीमा युवाहरु माझ जनप्रिय नेताका रुपमा चिनिन्छ ।

लामो समयदेखि एमालेमा आबद्ध भई सक्रिय राजनीतिमा लागेका गिरी नेकपा एमालेका जिल्ला सदस्य तथा सचिवालय सदस्य हुन् । झापा क्षेत्र नम्बर ३ लाई विकास र समृद्धितर्फ डोहोरयाउन भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

झापाको क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्तापछि आयोजित पहिलो चुनावी कोणसभामै राप्रपाका नेता, कार्यकर्ताहरुको उपस्थिती देखिएन । दमक चोकमा एमालेले आयोजना गरेको कोणसभामा राप्रपाका केन्द्रिय सदस्य गोपाल पौडेलले शुभकामना मन्तव्य राखेर औपचारिकता पुरा गरे । तर सो सभामा न त राप्रपाका अरु स्थानीय नेता, कार्यकर्ता देखिए न त झण्डानै । पौडेलले सार्वजनिक रुपमै राप्रपाको झण्डा समेत कार्यक्रममा नदेखिँदा एमालेले एक्लै चुनाव लडन खोजेको जस्तो महसुस भएको उल्लेख गरे । 

एमाले र राप्रपा गत स्थानीय चुनावमा दमकमा आम्ने साम्ने भएका थिए ।  जसमा कांग्रेस , माओवादीसहितको समर्थनमा राप्रपाका रामकुमार थापा दमकको मेयरमा निर्वाचित भएका थिए । स्थानीय चुनावको ६ महिना नबित्दै हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा राप्रपा र एमालेबीचको गठबन्धन औपचारिकताका लागि मात्रै भएको राप्रपाका स्थानीय कार्यकर्ता  बताउँछन ।

झापा क्षेत्र नं १ मा प्रतिनिधि सभामा उम्मेदवार सिफारिस भएका चर्चित एवं लोकप्रिय युवा नेता रविन कोइरालाई एमालेले प्रदेश सभा सदस्यमा झारेर नेता अग्नी खरेललाई प्रतिनिधि सभामा उम्मेदवार बनाएपछि सो क्षेत्रमा पनि एमाले भित्रको असन्तुष्टि चुलिएको छ । 

कोइरालालाई ब्याक गरेर पाहुना उम्मेदवार खरेललाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाइनुले त्यहाँँ कांग्रेसका महामन्त्री एवं चर्चित युवा नेता विश्वप्रकाश शर्माको जित सहज भएको चर्चा एमाले वृत्तमै भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा पाँच वटा संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि कूल १०१ जना उम्मेदवार चुनावी मैदानमा छन । एमाले अध्यक्ष ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार युग पाठक , गठबन्धनका डा. खगेन्द्र अधिकारी लगायतले मनोनयन दर्ता गराएका छन् । झापामा यो पटकको निर्वाचनका लागि कूल ६ लाख ६३ हजार मतदाता छन ।  

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : २३ बजे