५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दशैं मनाउने फरक शैली, आदिवासी समुदायमा देवता र सरसमानमा गाैरमाटीकाे टीका चढाईने चलन




गाैरीगंज /
दसैंको उल्लासमा नभुल्ने को होला र ? बलियो सांस्कृतिक इतिहास बोकेका पूर्वी आदिवासी समुदाय पनि दशैं रमेर झुम्ने गर्दछन् । अन्य समुदायले मनाउने तरिका भन्दा उनीहरुको शैली भिन्न छ । झापा मोरङ्ग र सुनसरी जिल्लामा ठूलो संख्यामा बसोबास गर्ने आदीवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, थारुलाई पनि यस पर्वको उल्लासले राम्रैसंग छुने गर्छ । दशैंलाई उनीहरुले जात्रा पावनीका रुपमा रमाइलोसंग बिताउँछन् । धार्मिक मठ–मन्दिरहरुमा उनीहरुको जात्रा पावनी बित्ने गर्छ ।
खासगरी दशैंमा मन्दिरमा गई पुजाआजा गर्ने, भाकल अनुसार दुर्गा मन्दिरहरुमा बोका, हाँस, परेवा बलि दिने, नरिवल चढाउने, नयाँ लुगा किन्ने र लगाउने, मिठो–मसिनो खाने र हप्तौं दिनसम्म मेला भर्ने गरेको दृष्टान्तले जात्रा पावनीको रौनकले यस समुदायलाई पनि छपक्कै छोपेको पुष्टि गर्छ ।
यस समुदायमा जसकाे घरमा दुर्गा मन्दिर छ, उनीहरू जमरा उमार्दैनन् । तर, नाै दिनसम्म चण्डी पाठ गर्ने गरेकाे यस समुदायका अगुवाहरू बताउँछन् । गाउँ गाउँमा पिङ टाङ्ने गर्दछन्। केटाकेटी, बालबच्चा,बुढाबुढी मानिसहरू हास्दैखेल्दै पिङ खेलेर आनन्द लिने गर्दछन् । बर्षमा एक पटक पृथ्वी मातालाई अाफ्नाे बाेझबाट मुत्त गर्न र एकचाेटी जमिन छाेड्नु पर्ने मान्यताबाट उनीहरू सबै पिङ खेल्ने गरेकाे उनीहरू बताउँछन् । काेही काेही दशैंकाे समयमा अाकाशतारा टाङ्ने गर्दछन् । याे टाङ्ने काम दशैंदेखि तिहारसम्म गर्ने गरिन्छ ।
उनीहरू दुर्गा देवीसंगै काली, सरस्वतीकाे पनि पूजा गर्छन् । महानवमीकाे दिन लेख्ने, पढ्ने गरे ज्ञान र विधा बढ्छ भन्ने मान्यताा अनुसार अाफ्ना छाेराछाेरीहरूलाई नयाँ कापी र कलमले लेखाउने चलन छ ।
आदिवासीहरूले दशैंमा नाच्ने ढुल्की  नाच
पावनीमा नाचगान गर्ने चलन पनि छ । विषेशतः राजवंशी ताजपुरिया समुदायका मानिसहरू याे समयमा ढुल्की नाच गरेर हिड्ने गर्दछन् । पावनीकाे अवसरमा प्रत्येक घरमा गई सामुहिक नाचगान गर्ने गर्छन् । उनीहरू यसरी नाचगान गरेर संकलन भएकाे पैसा र जिन्सी समाजलाई फाईदा हुने साझा काममा लगाउछन् । समाजका कुरिती र विकृतिलाई व्याङ्ग्त्मक शैलीमा गीतकाे माध्यमबाट समाज सुरधारका लागि गाईने नाच ढुल्की नाच भनेर अगुवाहरू बतनउँछन् ।
पावनीकाे अवसरमा उनीहरू दुर्गा मन्दिर भएकाे स्थानमा बर्सेनि मेला लगाउने गर्छन् ।
झापामा पावनीकाे अवसरमा गाैरादह नगरपालिकामा दुधाली मेला र ग्वालडुब्बा मेला, दामुना मेला,गाैरीगंज गाउँपालिकामा गाैरीगंज मेला, खजुरगाछी मेला,चन्द्रगढी, माेरङ्गकाे विभिन्न स्थानमा मेला लगाउने गरिएकाे छ ।
यस क्षेत्रमा बसोबास गर्ने आदिवासी र अन्य समुदायबीच यो पर्व सांस्कृतिक एकता र सहिष्णुताको सेतु बन्न पुगेको छ । राजवंशी समाज विकास समितिका गाैरीगंज अध्यक्ष गाेपाल प्रसाद राजवंशी भन्छन् – ‘आदिवासी समुदायले दशैं धुमधामसंग मनाउने गरेकोले यो पर्वले अरु समुदायसंग भावनात्मक सम्बन्ध जोडेको छ । मनाउने तरिका फरक छ तर श्रद्वा र आस्था एउटै छ । महानवमीको दिन आफ्नो नजिकको दुर्गामन्दिरमा डाला (केराका काइयो) चढाउने र मन्दिरबाट जमरा, टिका, प्रसाद लगेर ठूलाबडालाई लगाउने गरेको राजवंशी बताउँछन् ।
आदीवासी समाजमा दुर्गा मातालाई शक्तिको स्वरुपमा मानी र त्रिलोक विजय गरेका दैत्य राजा मैशासुरलाई बध गरी देवता, मानिसहरुको कल्याण अनि मुक्ति दिएको खुशियालीमा पूजा गर्ने चलन छ । उनका अनुसार यस समुदायले घरमा प्रयोग हुने हातहतियार, ओखल, मुस्ली, कोदालो, हलो, खन्ति, बसेला, जङ्गाल, धोइ पखाली गरी तिनीहरुको पूजा गछर्न ।

नवमीका दिन घरमा प्रयाेग गरिने हातहतियारहरू धाेई पखालेर पुजा  गर्ने गर्छन् 

यसरी पूजा गर्ने विधिलाई यस समुदायले हाल जङ्गाली सेवा भन्दछन् । हालजङ्गाली सेवा गर्दा विहानै घर आँगन लिपपोत गछर्न् । हालजङ्गाली सेवा गर्ने मानिस (घरमुली) उपवास बस्छन् । अनि पाँच ठाउँमा केराको पत्तामा पानसुपारी, चिनी, भाग, धुप, केराको प्रसादी लगाई पूजा गछर्न । गैरमाटी, खैरमाटी (रातो र खैरो रङ्गको माटोको डल्लो ) घोलेर पाँच–पाँच वटा टिका पूजा गरेको सबै समानहरुमा लगाइन्छ । त्यसपछि प्रत्येक घरको ढोकाहरुमा पाँच –पाँच वटा गरी टिका लगाइन्छ । आरोग्यको लागि घरमा रोगव्याध प्रवेश गर्न नसकोस् भनी दुवो र पैसा (डबल) ढोकाहरुमा टाँसिन्छ ।
झापा, मोरङ्ग, सुनसरीलगायत भारतको विहार र पश्चिम राज्यमा बसोबास गर्ने आदीवासीहरु दशमीको दिनदेखि पूर्णिमासम्म मेला भर्न जाने गछर्न । राजवंशी भाषाका कवि तथा गीतकारसमेत रहेका राजवंशीका अनुसार जात्राले आदीवासी समाजमा नयाँ कुटुम्बहरुको लागि विशेष महत्व राख्दछ ।
नयाँ कुटुम्बहरु दशैंमा एक आपसमा लुगा, लत्ताकपडा दिने–लिने गर्दछन् । छोरी–ज्वाईहरु ससुरालीतिर गएर चाड मनाउने, मेला भर्ने चलन छ । तर, पर्वको नाममा फजुल खर्च गर्नु हुदैन, अध्यक्ष राजवंशीले भने–‘यसले समाजमा विकृति भित्र्याउँछ ।’

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १२ : ४१ बजे