१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकको शैक्षिक पुर्वाधार बिकासमा सरकारको २१ करोड बजेट सुनिश्चित,सडकमा विश्व बैंकको ५८ करोड



दमक /
दमक नगरमा रहेका महत्वपूर्ण शैक्षिक संस्थाको पूर्वाधार बिकासका लागि संघीय सरकारले कूल २१ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । दमक बहुमुखी क्याम्पस, हिमालय मावि र ढुकुरपानी माविको लागि सो बजेट सुनिश्चित भएको हो ।
संघीय सरकारले यहाँका महत्वपूर्ण योजनाहरुलाई बजेटमा समावेश नगरेको भनि भइरहेको आलोचनाकाबीच दमक नगरपालिकाको प्रतिनिधिमुलक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर सो बजेट सुनिश्चित गरेको हो । बिभिन्न महत्वपूर्ण योजनाहरुको माग गर्दै दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना भटटराई र प्रमुख प्रशासकिय अधिकृत शशि राईसहितको टोली काठमाडौंमा छ ।
सो टोलीले संघीय सांसद समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष समेत रहेका दमकका नेता गगन पुरीसहित राजनीतिक नेतृत्वको समन्वयमा प्रधानमन्त्री, मन्त्रीसहित उच्च सरकारी अधिकारीहरुसंग भेटघाट गरि ति योजनामा बजेट समावेशका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेको थियो ।
आफुहरुसंगको भेटमा अर्थमन्त्री शर्माले दमक बहुमुखी क्याम्पस, हिमालय माध्यमिक विद्यालय, र ढुकुरपानी माध्यमिक विद्यालयको पुर्वाधार विकासका लागी २१ करोड रुपैयाँ उपलब्ध गराउने सुनिश्चित गरेको नगर उपप्रमुख भट्टराईले जानकारी दिइन ।
दमकको बिकासका लागि यस अघि सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाहरुलाई प्राथमिकतामा राख्दै थप रकम प्रदान गर्न सरकारका उच्च अधिकारीहरु सहमत भएका छन ।
त्यसैगरी विश्व बैंकको लगानीमा शहरी विकास मन्त्रालयद्वारा पुर्वाधार विकासको कार्यक्रम समेत स्वीकृत भएको छ । दमकका पुर्व प्रधानपञ्च धन बहादुर श्रेष्ठको घरदेखि पश्चिम तर्फ संगम चौक हुँदै ताराबारी डिपुचोक जाने करिब ६ किलो मिटर लामो सडक विश्वबैंकको लगानीमा निर्माण गर्ने गरिको कार्यक्रम स्वीकृत भएको हो । ५० फुट चौडाईको सो सडकको बीच–बीचमा चाहिने पुल तथा कल्भर्ट, सडक बत्ती साथै दुवै तर्फ साईकलको लेन समेत निर्माण हुनेछ । सो योजनाका लागि विश्वबैंकको ५८ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ११ : ४९ बजे