१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उद्रकान्त राजवंशी हत्याको आधा शताब्दिपछि शहीद प्रतिमा



झापा, वि.सं. २०२८ सालमा नक्सली उग्रवादी चारुमजुम्दार र कानु सन्यालका नेपाली चेलाहरुले झापा गरामनीका प्रजातन्त्रवादी योद्धा उद्रकान्त राजवंशीको हत्या गरेको आधा शताब्दि बित्यो ।

प्रजातन्त्रवादी योद्धा  उद्रकान्त हत्या ।

तत्कालीन झापा गरामनी–९मा उनको नृशंसतापूर्वक हत्या भएको थियो । जसले उद्रकान्तको हत्या ग¥यो झापामा उनीहरुको शालिक बनेको पनि २४ वर्ष पुग्यो । नक्सलवादी÷उग्रवादी कम्युनिष्टहरुको प्रभावमा परेका झापाली कम्युनिष्टहरु रामनाथ दाहाल, केपी ओली, सीपी मैनाली, आरके मैनालीहरुको निर्देशनमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ लगायतले राजवंशी लगायतका व्यक्तिको हत्या गरेका थिए ।
व्यक्ति हत्याको अभियोगमा तत्कालीन प्रशासनले अभियुक्तहरुलाई पक्राउ गरी पाँचै जनालाई जेल सार्ने क्रममा इलामको सुखानी जंगल पुगेपछि गाडीबाट भागेको भन्दै गोली हानेर मारिदियो । उनीहरुलाई २०२९ साल फागुन २१ गते मारिएको थियो ।

उद्रकान्त राजवंशीलाई हत्या गरिएको घर ।

२०२९ मंसीर २३ गते उद्रकान्त राजवंशी घरमै सुतिरहेकै अवस्थामा कम्युनिष्टहरुले सयौं ठाउँमा काटेर पाशविक हत्या गरेका थिए । राजवंशीसँगै २०२९ पुस १० गते शनिश्चरे बजारबाट उत्तरमा पर्ने हात्तीकिल्ला गाउँमा पूर्वसांसद (रापस) धर्मप्रसाद ढकाल र उनका माइला छोरा ज्ञानी (ज्ञानेन्द्र) को हत्या गरियो । २०२९ असार २७ गते झापामै विष्णुप्रसाद बिमली र उनका भाञ्जा ईश्वरीप्रसाद चुडाललाई अमानवीय यातनाका साथ पाटावारीभित्र लगेर हत्या गरिएको थियो ।

यसअघि २०२८ जेठ ३ गते झापा ज्यामिरगढीका सामान्य किसान कर्णबहादुर गौतमको विभत्स ढंगले हत्या गरिएको थियो । २०२९ वैशाख २६ गते सामान्य परिवारका सोझा कृषक शनिश्चरे वडा नं. ६का वडाध्यक्ष बुटन चौधरीलाई राति घरमै भालाले घोचीघोची नक्सली (नक्सलाइट)हरुले हत्या गरेका थिए । बुटन चौधरीको हत्या गरेको अभियोगमै नेकपा एमालेका हालका अध्यक्ष खड्गप्रसाद ओली (केपी) सहितका व्यक्तिलाई २०३० चैत २३ गते अदालतले ज्यानमाराको दण्ड–सजाय सुनाएको थियो । ओली राजकाज अपराधमा नभइ व्यक्ति हत्या काण्डको अभियोगमा १४ वर्ष जेल सजाय भोगेका मानिस हुन् ।

आधा शताव्दिसम्म खोज खबरविहीन उद्रकान्त राजवंशीको ढिलै भए पनि नेपाली कांग्रेसले उनको सम्झनामा स्मृति प्रतिष्ठान र सम्मानमा प्रतिमा निर्माण गर्न लागेको हो । नेपाली कांग्रेस झापाले २ नम्वर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको संयोजकत्वमा शहीद उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठान गठन गरी शहीदको प्रतिमा निर्माणको काम अघि बढाएको हो । सो समितिले प्रंतिमाका साथै भवन निर्माणलाई समेत अघि बढाएको छ । शहीद राजवंशीको प्रतिमा र प्रतिष्ठानको भवन निर्माणको काम शुरु भएको संयोजक मैनालीले बताएका छन् ।

उद्रकान्त राजवंशीको निर्माणाधीन प्रतिष्ठान भवन ।

उद्रकान्तको सम्झनामा आगामी चैत ८ गते लोकतान्त्रिक आन्दोलनका सर्वाेच्च नेता गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा राजवंशीको जीवनी र योगदानका विषयमा परिचर्चा गरिने भएको छ । बिर्तामोड–९गरामनी सतालसिंहवारीस्थित उनकै निवास परिसरमा रहेको प्रतिष्ठानको हाताभित्र कांग्रेसका शीर्ष नेताहरुको उपस्थितिमा
कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको पूर्व तयारीका लागि प्रतिष्ठानका संयोजक खगेन्द्र मैनालीको सभापतित्व र नेपाली
कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईको आतिथ्यमा विहीवार बसेको बैठकले कार्यक्रम सफलताका लागि कार्यविभाजन समेत गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  १० : १७ बजे