२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

झापामा मंसीर १७ देखि मतदाता नामावली संकलन हुँदै



झापा / झापामा यही मंसीर १७ गतेदेखि मतदाता नामावली संकलन कार्यक्रम शुरु हुने भएको छ ।
जिल्लाका स्थानीय तहमा दुई चरणमा सो कार्यक्रम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरी मतदाता नामावली कार्यक्रमका बारेमा जानकारी दिइएको हो । पहिलो चरणमा मंसिर १७ देखि पुष २ गतेसम्म र अर्को चरणमा पुष ४ देखि पुष १८ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम संचालन हुने भएको छ ।

बिर्तामोड , अर्जुनधारा , हल्दिवारी , कमल , शिवसताक्षी र कनकाईमा पहिलो चरणअन्तर्गत मंसीर १७ देखि पुष २ गतेसम्म संचालन हुनेछ भने मेचीनगर , बुद्धशान्ति , कचनकवल, गौरादह , झापा र बाह्रदशीमा दोस्रो चरणमा पुष ४ देखि पुष १८ गतेसम्म संचालन हुने भएको छ । जिल्लाको भद्रपुर , गौरीगञ्ज र दमकमा पहिलादेखि नै पोस्ट संचालनमा रहेको छ ।
२०७० र २०७४ को निर्वाचनमा मतदाता परिचयपत्र नपाउनेहरुको लागि स्थानीय तहमा मतदाता नामावली संकलन कार्यक्रम संचालन गरिने निर्वाचन कार्यालय प्रमुख तुलसी नेपालले बताए । जिल्लाका १२ वटा पालिकामा मतदाता नामावली संकलन गर्न प्रत्येक पालिकामा दर्तास्थल व्यवस्थापक र दर्ता कर्मचारीको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

झापामा अहिले ६ लाख ९० हजार ३१४ जनाको मतदाता नामावलीमा नाम रहेको छ । २०७० र २०७४ को निर्वाचनमा छुट्ने करिब ५५ हजार रहेको अनुमान गरिएको छ । तीमध्ये ३० हजारलाई मतदाता नामावली संकलन कार्यक्रममा समेट्ने लक्ष्य रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए । त्यस्तै बाहिर जिल्लाका आउट डिस्ट्रिक रजिष्ट्रेशनअन्तर्गत ५ हजार जनाको नामावली संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।
जिल्ला कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले मतदानको अधिकारबाट कसैलाई पनि वंचित नगराउनका लागि यो अभियानलाई सफल बनाउन आव्हान गरे । कार्यक्रममा नेकपा एमालेका यमबहादुर श्रेष्ठ , माओवादीका सीपी कडरिया ,एकीकृत समाजवादीका दुर्गा भट्टराई , लोकतान्त्रिक समाजवादी पार्टीका अनुत राजवंशी , जनता समाजवादी पार्टीका कमन देवान , विवेकशील साझा पार्टीका मेदनी प्रसाई ,एमएनओका बानिरा मेचे , प्रहरी उपरीक्षक सानुराम भट्टराई , सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे , अनुसन्धान अधिकृत तिलकप्रसाद प्रसाई , सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने ,जिल्ला समन्वय समितिका लालबहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : १९ बजे