१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा -५ मा कांग्रेस अधिवेशन– निर्णायक शक्ति को जनअनुमोदित कि गुटउपगुट ?




दमक/नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापामा गाउँ / नगर तह सम्मको अधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन भइसकेको छ ।
वडा तथा पालिकास्तर सम्मको अधिवेशन सकिएपछि अनिश्चित जस्तै बनेको अधिवेशनको नयाँ कार्यकतालिका आएपछि मसिंरमा हुने प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्लाको आगामी अधिवेशनमा नेता कार्यकर्ताहरुको ध्यान केन्द्रित भएको छ ।
यि तहमा पार्टीको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेता कार्यकर्ताहरु समुह बनाएर गुटको सहारा खोजिरहेका छन । केन्द्रमा पार्टी सभापति शेर बहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शंशाक कोइराला तथा डा. शेखर कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुका अलग अलग गुट सक्रिय हुँदा त्यसको प्रभाव झापामा पनि परेको छ । तर झापामा मुख्यरुपमा विश्वप्रकाश शर्माको समुह र नेता कृष्ण सिटौलाको समुह अधिकांश क्षेत्र तहमा गुटबन्दीको नेतृत्व गर्दै आएका पाइन्छ ।
झापाको क्षेत्र नं ५ अन्तर्गतका पालिकाहरुमा भएको अधिवेशनमा समेत गुटगत प्रवृत्ति देखिएको थियो । त्यस्तो गुट विचारमा भन्दा पनि निर्वाचनमा को कुन समुहमा बसेर सुरक्षित हुने भन्नेमा केन्द्रित भएको पाइएको थियो । यस्तै अवस्था प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा पनि पर्ने संकेत देखिएको छ । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माको गृह जिल्ला समेत झापा भएका कारण यहाँको गाउँ÷नगरदेखि जिल्ला तहको निर्वाचन सम्म शर्माका समर्थकहरुको समुह बन्ने निश्चित देखिएको छ भने अर्का प्रभावशाली नेता तथा पूर्व महामन्त्री कृष्ण सिटौलाको समुह गृह जिल्लामा आफनो पकड कायम राख्ने कसरतमा छ ।
क्षेत्र नं ५ मा यि दुई नेताका समर्थकहरुले समुहनै बनाएर आफू आफूतिर कार्यकर्ता आकर्षित गर्नेमा लागेका छन । दुई समुह मध्ये शर्माको समुहले पार्टीको जिल्ला सभापतिमा राम कट्टेललाई अघि सारेर चुनावी दौडमा होमिएको छ भने सिटौलाका समर्थकहरु अर्का प्रभावशाली नेता देउमान थेवेलाई जिल्ला सभापतिमा अघि सारेर होमिएका छन । पालिका तहको अधिवेशन सकेर क्षेत्रीय अधिवेशनको सन्मुखमा आइपुग्दा झापामा १३ औं महाधिवेशनमा एउटै समुह ( लाइन) मा देखिएका नेताहरुनै विभाजित भएर फरक फरक समुहमा लागेको देखिन्छ । जिल्ला सभापतिका उम्मेदवारद्धय कट्टेल र थेवे यस अघि सिटौला समुहमै थिए । १४ औं महाधिवेशनमा दुवै जना सभापतिको उम्मेदवार बनेपछि कट्टेललाई शर्माले प्रत्यक्ष रुपमै संगै जिल्लाका ठाउँ ठाउँमा लगेर सभापतिको उम्मेदवार भनि परिचय गराइरहेका छन ।
१३ औं महाधिवेशनमा झापाको तत्कालिन निर्वाचन क्षेत्र नं ७ र ६ को समायोजनपछि बनेको ५ नम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएका तथा पूर्व दमक नगर सभापति रोशन गौतमको नेतृत्वमा दुई समुहले आआफनो समुहका उम्मेदवारहरुको निश्चित गर्ने क्रममा रहेका छन ।
त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ५ (ख) मा रवि न्यौपाने र चुडेन्द्र खडका सभापतिको लागि अन्तिम चुनावी प्रतिस्पर्धामा उत्रिदैछन भने ५ (क) मा जिवन राई र ज्ञानेन्द्र खत्री सभापतिको उम्मेदवारका रुपमा कार्यकर्ताहरु माझ पुगिरहेका छन ।
अघिल्ला अधिवेशनहरुमा जस्तै यसपालीको अधिवेशनमा पनि ति समुहले महाधिवेशन प्रतिनिधिमा भित्रिया नेताहरुको समुह बनाएर एक अर्काका प्रतिस्पर्धी उम्मेदवार को हुन सक्ला भनेर बहस गरिरहेका छन ।
गाउँ नगर अधिवेशनमा अलग अलग कित्ता बनाएर उम्मेदवारलाई अघि सारेका महाधिवेशन प्रतिनिधिका उम्मेदवार पनि आफनो स्थान सुरक्षित गर्नका लागि क्षेत्रको अधिवेशनमा समुह अर्थात गुट परिवर्तनको अभ्यासमा लागेका छन । क्षेत्रीय अधिवेशनमा यस क्षेत्रका जनअनुमोदित नेताहरु पनि होमिँदैछन । स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचन जितेर बामपन्थीलाई धक्का दिएका ति जनप्रतिनिधिहरु यो अधिवेशनमा आकर्षणका रुपमा देखिएका छन ।
गौरादह नगरपालिका प्रमुखमा निर्वाचित रोहितकुमार साह, गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित दिपिन्द्र थापा, कमल गाउँपालिकाको अध्यक्षमा बराबर मत ल्याएर चर्चामा आएका हुकुमसिंह राई, गौरीगञ्जमा अध्यक्षकी प्रत्यासी फुलवती राजवंशी , गौरादह २ बाट निर्वाचित वडाध्यक्ष हेमन्त कार्की र गौरीगञ्ज ३ बाट निर्वाचित वडाध्यक्ष मखना महतो ( गैदार)लाई यसपटकको अधिवेशनमा जनअनुमोदिन उम्मेदवारका रुपमा कार्यकर्ताहरुले लिएका छन । उनीहरुलाई यस पटकको अधिवेशनमा निर्णायक शक्तिका रुपमा पनि हेरिएको छ । कमल १ का निर्वाचित वडाध्यक्ष केदार कटुवाल र गौरीगञ्ज ६ का वडाध्यक्ष बद्री यादव यस अघिको वडा तथा पालिका तहको निर्वाचन जितेर पार्टीमा अनुमोदित भइसकेका छन ।
त्यस्तै भर्खरै सकिएको गाउँ नगर अधिवेशनबाट चयन भएका सभापतिहरुको भुमिकाले पनि आगामी पार्टी निर्वाचनको परिणामको पूर्व अनुमान लगाउन सहज हुने तर्क कांग्रेसजनहरुले गरिरहेका छन ।
पार्टीका केन्द्रिय सभापतिमा कसलाई मत हाल्ने भन्ने बिषय क्लियर हुन नेताहरुले चाहेका छैनन । संघीय महाधिवेशन प्रतिनिधिका एक जना उम्मेदवार भन्छन– केन्द्रीय सभापतिका उम्मेदवारको नै अन्तिम टुंगो लागिसकेको छैन । अहिले सम्म ५÷६ जनाको नाम सुनिएको छ महाधिवेशन प्रतिनिधि चुनिएको अवस्थामा उहाँहरु मध्येनै कोही एक जना म लगायतका साथीहरुको रोजाईमा पर्नुहुन्छ । ति उम्मेदवारले अगाडी थपे–कांग्रेसमा नेतृत्व परिवर्तन वा रुपान्तरण ? भन्ने बहस पनि छ । नेतृत्व परिवर्तनको कुरा महाधिवेशनमा उठनु स्वभाविक हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ४३ बजे