१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको १४ औं महाधिवेशन : गाउँ तथा नगरपालिकाको सभापति पदमा क्षेत्रीय प्रतिनिधिले मात्रै उम्मेद्वारी दर्ता गर्न पाउने



रेजिना गौतम
विर्तामोड २
, भदौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अघि स्थानीय तहमा हुने अधिवेशनमा क्रियाशील सदस्यले पालिकास्तरमा आफैंलाई पनि भोट दिन नपाउने भएका छन् । क्रियाशील सदस्यले उम्मेद्वार हुन पाएपनि आफैंलाई समेत भोट दिन नपाउने भएका हुन् ।
कोरोनाको बढ्दो प्रभाव कम गर्दै महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था रहेकाले यसबर्षका लागि उक्त नियम लागु गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
‘हाम्रो लक्ष क्रियाशील सदस्यलाई अधिकार सम्पन्न गराउने नै हो ’–नेता शर्माले भन्नुभयो–‘जिल्ला अधिवेशनमा पनि क्रियाशिल सदस्यले भोट दिन पाउनुपर्छ भन्ने हो, तर यसपटक कोरोना कहर यस्तो छ, महाधिवेशन जसरी पनि गर्नैपर्ने अवस्था छ, सबै क्रियाशील सदस्यको उपस्थिति गराएर भोट दिन पाउने अवस्था छैन, त्यसैले यसबर्षको लागि मात्रै यस्तो ब्यवस्था गरिएको हो । शर्माले थप्नुभयो–‘पालिकास्तरको निर्वाचनमा यसपटक क्षेत्रीय प्रतिनिधिले मात्रै मत दिन पाउनेछन् ।’
तर बैठकको निर्णय बमोजिम गाउँ तथा नगरपालिकाको सभापति पदमा क्षेत्रीय प्रतिनिधिले मात्रै उम्मेद्वारी दर्ता गर्न पाउनेछन् । तर पदाधिकारी र सदस्यमा मनोनयन दर्ता गर्न पाए पनि क्रियाशील सदस्यले आफ्नै उम्मेद्वारीउपर भोट हाल्ने अवसरबाट भने यसपटक बञ्चित हुनेछन् ।
यसअघि नेपाली कांग्रेसको निर्वाचनमा क्रियाशील सदस्यले वडामार्फत क्षेत्रीय प्रतिनिधि चयन गर्थे भने गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनमा प्रत्यक्ष मत खसाल्ने अधिकार थियो ।
यो निर्णयसँगै क्रियाशील सदस्यको अधिकार खुम्चिएको छ । क्षेत्रीय प्रतिनिधिले भने अव नेपाली कांग्रेसले गाउँ/नगरपालिकाको नेतृत्व, प्रदेश र क्षेत्रीय नेतृत्व, महाधिवेशन/महासमिति सदस्य र जिल्लाको नेतृत्व चयनमा भोट हाल्न पाउनेछन् ।
‘नेपाली कांग्रेसको साउन ३० को निर्णयमा –‘महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/ महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने’–भनिएको छ ।
यसैगरी सोही बैठकको निर्णय नम्बर–७ मा ‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/ महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि’ भनी संशोधन गरिएपछि गाउँ/नगर, उपमहानगर तथा महानगरपालिकाको निर्वाचनमा क्षेत्रीय प्रतिनिधिले मात्रै भोट दिन पाउने भएका हुन् ।
यसले भीडभाड कम हुने र कोरोनाबाट बच्न सामाजिक दुरी कायम गरेरै निर्वाचन गर्न सकिने प्रवक्ता शर्माले विश्वास ब्यक्त गरे ।
नगरपालिकाकै कतिपय वडामा ८ सय बढी क्रियाशिल सदस्य रहेको र पालिकास्तरको निर्वाचनमा सबै क्रियाशील सदस्य उपस्थित हुँदा कोरोनाका कारण सामाजिक दुरी अपनाउन तथा स्वास्थ्य मापदण्ड बमोजिम निर्वाचन गर्न नसक्ने अवस्था रहेकाले यसबर्षका लागि मात्रै लागु हुनेगरी यो ब्यवस्था लागु गर्ने सहमति भएको शर्माको भनाई छ ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ । पछिल्लो पटक निर्धारित मिति अनुसार यही भदौं १८ गते गाउँ/नगर वडा अधिवेशन, भदौ २७ गते गाउँ÷नगरपालिका, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ५ गते (एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय अधिवेशन) तय गरिएको छ ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० गते जिल्ला अधिवेशन, कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन तथा मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा १४ आंै महाधिवेशनको मिति तय गरिएको छ ।
यसअघि विवाद रहेका क्रियाशील सदस्यताको टुङ्गो लगाउने जिम्मा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिएको छ । कांग्रेसको बारा, रौतहटसहितका तीनजिल्लामा क्रियाशील सदस्यता विवाद छ । विवाद समाधानको माग गर्दै उक्त जिल्लाका कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्नामा छन् । क्रियाशील सदस्यता विवाद भदौ २ गतेसम्म टुग्याउन समय दिइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ०६ बजे