रूपा राजवंशी
आज आदिवासीहरुको महान पर्व । २७ औं विश्व आदिवासी दिवस नेपाललगायत विश्वभरि नै विभिन्न कार्यक्रम गरी मनाइदैछ । यद्यपि विश्वव्यापी कोरोना महामारीका कारण संघसंस्थाहरुले औपचारिक कार्यक्रम भने आयोजना गरेका छैनन् । ‘आदि’ भनेको आदिमकालदेखि भन्ने बुझाउँछ । यसर्थ कुनै पनि ठाउँमा आदिम कालदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनी खोस्री आफ्ना पुस्ता धानिरहेका, कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएको समुदायलाई आदिवासी भनिन्छ ।
आदिवासी र तिनको संस्कृति संरक्षणका लागि २३ डिसेम्बर १९९४ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसंघले यसअघि नै १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत ‘कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो । संयुक्त राष्ट्रसंघले आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणा पत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति , भाषा, रीतिरिवाज, र चलन अनुरुप सुहाउँदो शैक्षिक प्रणाली ,संघसंस्था स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिइएको छ । अनेक अध्ययनहरुले स्पष्टसँग के देखाएको छ भने आदिवासी र गैर आदिवासी समुदायबीच शैक्षिक अबस्था , विकास अनि समष्टिगत रुपमा मानव अधिकारका सुविधाहरुमा ठूलो असमानता देखाउँछ । नेपालको हकमा पनि आदिवासी र गैर आदिवासीबीचको असमानताको खाडल बढ्दै गएको छ ।
गैर आदिवासीहरुको विकास क्रमले तीब्र छलाङ मारिरहेको छ । तर, आदिवासीहरु घट्दो क्रममा छन् । आफ्नो पहिचान र जीवनयापनका लागि पुस्तौदेखि एकै ठाउँमा खनी खोस्री प्रकृतिसँग पैठेजोरी खेल्दै आएका आदिवासी समुदाय विश्वका लागि प्राचीन सम्पदा हुन् । उनीहरुको र अस्तित्व पहिचान जोगाउँदै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ । त्यस समस्या र चुनौतीलाई नेपालमा आत्मसात गरेको पाइदैन । बरु राज्य सत्ताले नजर अन्दाज गरेको पाइन्छ ।
बहुजाति , बहुधर्म , बहुभाषी र बहुसंस्कृति भएको हाम्रो देश नेपालको अधिकांश भूभागमा आदिवासी समुदायको बसोबास पाइन्छ । बद्लिदो परिवेशसँगै आदिवासी समुदाय प्रभावित भएको छ । उनीहरु विस्थापित बन्दै गएका छन् । लोप हुने क्रम बढ्दो छ । तीब्र रुपमा उनीहरुले आफ्नो पहिचान , रीतिरिवाज अनि मौलिकतालाई जीवित राख्ने भरमग्दूर प्रयास गरिरहेका छन् ।
अस्तित्व जोगाउन संघर्षशील छन् । अर्कोतिर आदिवासीभित्रै नयाँ पुस्ताले मौलिकता भुल्दै भएको छ । हिजोकै अबस्थामा रहन र त्यही रहनसहन मन पराउन छोड्दै गएका छन् । पुराना संस्कृतिहरुलाई निरन्तरता दिन नसकेको अबस्थामा आफ्नो मौलिक थर समेत परिवर्तन गरी पहिचान हराउँदै गएको उदाहरण अत्यासलाग्दो छ ।तीतो सत्य के हो भने आदिवासीहरुको बसोबासलाई बिगार्दै अनि उनीहरुलाई बिस्थापित गर्दै लगिएको छ । एकै ठाउँमा बस्न मन पराउने, थातथलो छोड्न मन नपराउने आदिवासीका गाउँबस्ती उजाडिदै गएको छ । उनीहरुलाई संरक्षण र संबद्र्धन गर्नेतर्फ तीनै तहका सरकारले खासै ध्यान नदिएको भन्दा फरक नपर्ला ।
आदिवासी समुदायका लागि सहज , सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैर आदिवासी हौं या आदिवासी समुदाय । आउँदो पुस्तालाई समाजको यथार्थभित्र र विकासको चरमबिन्दुको प्रतिविम्व देखाउन जरुरी छ । आदिवासी दिवसको सबैलाई दायित्व बोध होस् । सबैमा शुभकामना ।