कोरोना भाइरस विरुद्धको खोप अभियानले नेपालसहितका गरिब देशमा उपलब्धताका हिसाबले गति लिन सकेकाे छैन। तर अमेरिकासहितका विकसित देशहरुमा पनि खोपलाई लिएर फैलिएको गलत जानकारी तथा राजनीतिक ध्रुवीकरणका कारण खोप अभियानले चाहेको जस्तो तीव्रता पाएको छैन।
अमेरिकामा पछिल्लो समय डेल्टा तथा डेल्टा प्लस भेरियन्टका कारण फेरि संक्रमण तथा मृत्यु बढ्दो क्रममा छ। तथ्यांकहरुले खोप लगाउनेहरुको संख्या कम भएका क्षेत्रमा संक्रमण र मृत्युदर कम देखिएको छ। खोप लगाएकाहरु संक्रमणबाट जोगिने तथा संक्रमण भएमा पनि गम्भीर अवस्था नआउने र मृत्युको जोखिम निकै कम देखिएको छ।
पछिल्ला केही तथ्यांकहरुले संक्रमण तथा मृत्युदर खोप नलगाएकाहरुमा ९९ प्रतिशत भन्दा बढि रहेको देखाएका छन्। संक्रमण पुनः बढ्न थालेसँगै खोप लगाउनेहरुको संख्या बढेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले राज्यहरुलाई खोप लगाउनेलाई एक सय अमेरिकी डलर दिन सुझाव दिएका थिए।
यस्तै बेलायतमा १८–२९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई खोपमा आकर्षित गर्नका लागि खाद्यान्नमा छुट दिने नीति लिइएको छ र यसले सकारात्मक प्रभाव देखाएको छ। बेलायतले खोप लगाउने १८ देखि २९ वर्ष उमेर समूहका व्यक्तिलाई ट्याक्सी चढ्दासमेत छुट दिने घोषणा गरेको छ।
नेपालसहितका देशमा खोपको उपलब्धता तथा अमेरिका, बेलायतसहितका देशमा खोप सम्बन्धी गलत जानकारी वा खोप विरोधी अभियानका कारण संक्रमण फैलिरहेका बेला अहिलेसम्म स्वीकृत भएका केही खोपहरुको प्रभावकारिता र देखिन सक्ने साइड इफेक्टबारे जानौँ।
फाइजर–बायोएनटेक
जर्मनीको बायोएनटेक तथा अमेरिकाको फाइजरले विकास गरेको खोपको प्रभावकारिता (लक्षणसहितको संक्रमण रोक्नमा) ९५ प्रतिशत रहेको छ। फाइजरको खोप दुई मात्रा लगाए पुग्छ। यो खोप अहिलेसम्मका अध्ययनहरुले कोरोना भाइरसका भेरियन्टहरुमा पनि प्रभावकारी देखिएका छन्।
तर फाइजरले संक्रमणको जोखिम कम गर्नका लागि खोपको तेस्रो मात्रा लगाउने सम्बन्धमा पनि स्वीकृतिका लागि प्रयास गरिरहेको छ। तर अहिलेसम्मका अध्ययन र तथ्यहरुले दुई मात्रा खोप लगाएकाहरुलाई तेस्रो अर्थात बुस्टर मात्रा लगाउनु नपर्ने देखिएको छ। फाइजरले भने यही अगस्टमा अति संक्रामक डेल्टा भेरियन्टमा बुस्टर मात्राको परीक्षण गर्दैछ।
एमआरएनए खोप हो फाइजर। यसका कारण वयस्कहरुको मुटु सुन्निनेसहितको दुर्लभ साइड इफेक्ट देखिएको थियो। तर यस्तो साइड इफेक्ट खोपको दोस्रो मात्रा लगाएका १० लाख मध्ये करिब १२.६ जनामा देखिने गरेको अध्ययनमा उल्लेख छ। यो खोप १२ वर्ष र त्यो भन्दा माथिकाले लगाउन सक्छन्।
२१ दिनको फरकमा दुई मात्रा लगाउनु पर्छ। रिंगटा लाग्ने, टाउको दुख्ने, दुखाइ महसुस हुने, थकान महसुस हुने, खोप लगाएको ठाउँ सुन्निनेसहितका सामान्य लक्षणहरु देखिन्छन्। यो खोपको पूर्ण मात्रा लगाएका व्यक्तिहरु संक्रमित भए पनि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउने देखिएको छ। यो खोप अहिलेसम्म नेपालमा उपलब्ध छैन। तर बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरी सरकारले ल्याउने तयारी भने गरिरहेको छ।
मोदेर्ना
अमेरिकाको मोदेर्नाले उत्पादन गरेको खोप हो। यो आकस्मिक प्रयोगका लागि स्वीकृति पाउने दोस्रो खोप हो। यो खोपको भण्डारण सामान्य फ्रिजको तापक्रममा गर्न सकिन्छ। तर फाइजरको खोप भने माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ।
यो खोपको प्रभावकारिता (लक्षणसहितको संक्रमण रोक्नमा) ८६ प्रतिशत रहेको छ। यो खोपको पनि दुई मात्रा लगाउनु पर्छ। खोपको पूर्ण मात्रा लगाएका व्यक्ति पुनः संक्रमित भए पनि गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनु पर्ने अवस्था आउने सम्भावना निकै कम रहने देखिएको छ।
१८ वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका व्यक्तिका लागि स्वीकृत भएको यो खोप २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ। रिंगटा लाग्ने, टाउको दुख्ने, दुखाई महसुस हुने, थकान महसुस हुने, खोप लगाएको ठाउँ सुन्निनेसहितका सामान्य लक्षणहरु देखिन्छन्।
फाइजरमा जस्तै यो खोप लगाएका व्यक्तिमा पनि निकै दुर्लभ अवस्थामा मुटु सुन्निनेसहितका गम्भीर साइडइफेक्ट देखिएका छन्। तर यो संख्या निकै कम रहेको छ। पूर्ण खोप लगाएका प्रति १० लाख जनामध्ये करिब १२.६ जनामा यस्तो इफेक्ट देखिएको हो। यो खोप अहिलेसम्म नेपालमा उपलब्ध छैन ।
जोन्सन एण्ड जोन्सन
एक मात्रा मात्रै लगाए पुग्ने अहिलेसम्म स्वीकृत एक मात्र खोप हो जोन्सन एण्ड जोन्सन। यसको समग्र प्रभावकारिता ७२ प्रतिशत रहेको छ। संक्रमण भए पनि गम्भीर अवस्था आउन नदिन यसको प्रभावकारिता ८६ प्रतिशत रहेको छ। थकान, ज्वरो, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुखाई हुने तथा मांशपेशीको केही भागमा दुखाई हुनेसहितका सामान्य साइडइफेक्ट देखिन्छन्।
खोप लगाएका केही व्यक्तिमा ब्लड क्लटिङ्ग डिसअडर (रगत जम्ने समस्या) पनि देखिएको सार्वजनिक भएको छ। तर यो समस्या निकै कम रहेको उल्लेख छ। यो खोप १८ र सो भन्दा माथिको उमेर समूहका व्यक्तिका लागि प्रयोगमा छ। यो खोप नेपालमा उपब्ध छ। अमेरिकाले अनुदानमा उपलब्ध गराएको खोप हालै देशभर लगाइएको थियो।
अक्सफोर्ड–एस्ट्राजेनेका
अक्सफोर्ड विश्वविद्यालयल र बेलायती–स्वीडिस कम्पनी एस्ट्राजेनेकाको सहकार्यमा विकास गरिएको खोप हो। यो खोप चारदेखि १२ हप्ताको फरकमा दुई मात्रा लगाउनु पर्छ। नेपालमा कोभिशिल्डको नाममा यो खोप सुरुमा उपलब्ध थियो।
भारतीय कम्पनीबाट उत्पादन गरी नेपाल ल्याइएको खोप भारतमा संक्रमण बढेसँगै खरिद सम्झौता भएर पनि अहिले रोकिएको अवस्था छ। १८ वा त्यो भन्दा माथिको उमेर समूहका लागि स्वीकृत खोप लक्षणसहितको संक्रमण रोक्न ७६ प्रतिशत प्रभावकारी देखिएको छ।
यस्तै ६५ वर्षमाथिको उमेर समूहका लागि यो खोपको प्रभावकारिता ८५ प्रतिशत रहेको छ। यस्तै अस्पताल हुनु पर्ने अवस्था आउन नदिनका लागि यो खोप ९३ प्रतिशत प्रभावकारी देखिएको छ।
भेरोसेल
चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप नेपालमा उपलब्ध छ। चीनले अनुदानमा दिएको तथा नेपाल सरकारले खरिद गरेको खोप आउने क्रममा छ।
२१ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्ने यो खोपको प्रभावकारिता लक्षणसहितको संक्रमण रोक्नमा ७९ प्रतिशत तथा अस्पताल भर्ना हुनु पर्ने अवस्थाको संक्रमण रोक्न पनि ७९ प्रतिशत देखिएको छ।
यो खोप १८ वा त्यो भन्दा माथिको उमेर समूहका लागि स्वीकृत छ। यो खोप लगाएका व्यक्तिमा टाउको दुख्ने, ज्वरो आउने, थकान हुनेसहितका सामान्य साइड इफेक्ट देखिन सक्छ।
(यो सामग्री यल मेडिसिन, डब्लुएचओ, वेबएमडी, न्यूयोर्क टाइम्स, बिबिसीसहितको विवरण समावेश गरिएकाे छ )
(देशसञ्चारबाट)