५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजवंशी जातिलाई बाह्रदशीमा प्रथम जाति घाेषणा



राजगढ १ , साउन। राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिएको छ ।

गाउँपालिकाको आज सम्पन्न नवौं गाउँसभाले बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक राजवंशी जातिलाई घोषणा गरेको हो । गाउँसभामा गाउँपालिकाका प्रवक्ता रहेका वडा नं १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले सो प्रस्ताव पेश गरेका थिए । प्रस्तावलाई गाउँसभाले सर्वसम्मत पारित गरेको प्रवक्ता राजवंशीले जानकारी दिए । ऐतिहासिक प्रमाणका आधारमा राजवंशी जाति नै पहिलो जाति भएकाले सो प्रस्तावउपर कसैले पनि आपत्ति नजनाएको प्रवक्ता राजवंशीले बताए ।

झापाका १५ वटा पालिकामध्ये बाह्रदशीमा पहिलोपटक यहाँका सबैभन्दा पुराना बासिन्दा भूमिपुत्र राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गरिएको हो । गत असार २२ गते राजवंशी विकास प्रतिष्ठानले बाह्रदशी गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्राचीन कालदेखि बसोबासित मुख्य बासिन्दा भएको सप्रमाणका आधारमा राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिनुपर्ने माग गरेको थियो । बाह्रदशीभित्र प्राचीनकालदेखि बसोबास गरी यहाँको भूमिलाई आवाद र सिंचित गरेको राजवंशी जाति यस ठाउँको मुख्य जाति भएको यथेष्ठ प्रमाणहरु भएकाले सही, सत्य र यथार्थतालाई ह्रदयंगम गरी गाउँसभाबाट राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गर्न प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो ।

नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा (२), धारा २०१४ को उपधारा (२), धारा २२१ को उपधारा(२) र धारा २२६ को उपधारा (१) लाई आधार मानी प्राचीनकालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधान रहेको छ । करिब ४१ जातजातिको बसोबास रहेको बाह्रदशी गाउँपालिकामा राजवंशी जातिको जनसँख्या सबैभन्दा बढी रहेको छ । २ हजार घरधुरीमा रहेका राजवंशीहरुको जनसँख्या ९ हजार १३१ रहेको छ । जुन कूल जनसँख्याको २३.०५ प्रतिशत हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ५८ बजे