१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मनकारी वडा सदस्य, जो घरघरै पुगेर सहयोग गर्छन्



मिलन के राउत

उर्लाबारी ३, असार /
मानव र मानवताबीच जब आपत्त–विपत्त पर्छ, तब सच्चाई र झुटको कित्ता छुटिन्छ । जनताले सच्चा जनप्रतिनिधि चिन्ने बेला पनि यही हो । यसर्थकी यो बेला विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सन्त्रासले नागरिकलाई आतंकित बनाएको छ ।
कोेरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यतिबेला देशभर निषेधाज्ञा छ । याेसँगै दैनिक मजदुरी गरेर छाक टार्ने वर्ग चर्को समस्यामा परेका छन् । यस्तो बेला मनकारी जनप्रतिनिधि पाउनलाई निकै गाह्रो छ । जोसँग मानवता छ, उसले मात्र अहिलेको समस्या बुझ्न सक्छ । ति थोरै मनकारी जनप्रतिनिधिका रुपमा भीष्मराज बुढाथोकी देखिएका छन् ।
एमाले भातृ संगठन यूवासंघका केन्द्रिय सदस्य समेत रहेका उर्लाबारी न.पा.३ का वडासदस्य बुढाथोकीको दिनचर्या खाद्य सामग्री लिएर आफ्ना वार्डका विपन्नहरुको घर चहार्दै बित्ने गरेको छ । उनले आफ्नै अगुवाइमा वडामा रहेका विपन्न परिवारलाई घरदैलोमा पुगेर राहत सामग्री वितरण गरेका छन् ।

एकै ठाउँ भीडभाड गरी राहत सामग्री वितरण गर्दा सामाजिक दुरी हुन नसक्ने भन्दै वडावासीको घरघरमै पुगेर उनले राहत सामाग्री वितरण गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने क्रममा कुनै पनि वडावासी भोकै नरहुन् भन्ने उद्देश्यले घरदैलोमै पुगेर राहत सामाग्री वितरण गरेको वडासदस्य बुढाथोकीले बताए ।

आफुसहित समाजसेवी, उद्योगी र व्यवसायीको सहयोगमा वडाका विपन्न नागरिकलाई खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए ।
२५ केजी चामल र अन्य अत्यावश्यक सामग्री गरी निषेधाज्ञा अवधिभर खाद्य सामाग्री वितरण गरिने उनले बताए । हालसम्म उर्लाबारी–३ का ४० घरपरिवार लाभान्वित बनेका छन् ।
मुलुक ठप्प भएको बेला समस्यामा रहेका विपन्न नागरिकलाई घरदैलोमै पुगेर राहत सामाग्री वितरण गर्नु प्रशसंनीय रहेको स्थानीय अरुण श्रेष्ठले बताए । ‘नेता चिन्नु र चिन्नुपर्ने आपत्त विपतमै हो भन्दै उनले मनकारी जनप्रतिनिधि बुढाथोकीबाट अरुलेपनि सिक्नुपर्ने बताए ।
वडासदस्य बुढाथोकीको समुहले विभिन्न लक्षित समुहलाई माक्स, सेनिटाईजर तथा समस्यामा परेका बटुवालाई गन्तब्यसम्म पुराउने, सडकमा अलपत्र परेकाहरुलाई खाजा खुवाउने तथा कोरोना संक्रमितलाई अस्पताल पुर्याउने र मृतकको शव व्यवस्थापनमा पनि जुटिरहेको छ ।
युवासंघ उर्लाबारीमा आबद्ध निसानकाजी थापा, सुमितसेन थापा, काजी लिम्बू, भरत ढकाल, विदुर रिजाल, रोशन रिजाल, निरोज थापा, सुजत श्रेष्ठ, दिनेश परियार, किरण राई, सेरू लिम्बू, सविना रसाइली, निहारिका भट्टराई र सकिरा कार्कीले वडासदस्य बुढाथोकीको अभियानमा साथ दिएका छन् ।
कोरोनाको सम्भावित संक्रमण रोक्न गाउँपालिका प्रवेशका नाकाहरुमा उच्च सतर्कता सहितको हेल्प डेस्क राखिएको, गाउँमा जिल्ला वाहिर र देशवाहिरबाट आएकाहरुको व्यापक खोजी गरेर लगत संकलन गर्ने र उनीहरुलाई निगरानी गर्ने, गाउँ टोल वस्तीहरुका जनचेतनाका लागि नियमित रुपमा माइकिङ गर्ने , आवश्यकता अनुसार होम क्वारेन्टाइनमा राख्ने तथा कोरोनाको संकास्पद व्यक्तिहरुलाई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन तथा आइसोलेसन वार्डमा राख्ने लगायतका सबै तयारी गरिएको पनि वडासदस्य बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : ०१ बजे