१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

असार महिनाबाट शैक्षिकसत्र शुरू, गाैरीगंजका विद्यालयहरू धमाधम परीक्षाफल प्रकाशन गर्दै



गाैरीगंज २७ , जेठ / गाैरीगंजका सामुदायिक तथा निजी विद्यालयहरूले धमाधम परीक्षाफल प्रकाशित गर्दैछन् ।

अाउँदाे असार १ गतेदेखि सरकारले शैक्षिक सत्र २०७८ सुरु हुने भनेपछि गाैरीगंजका सामुदायिक तथा निजी विद्यालयहरूले जेठ मसान्तसम्ममा आन्तरिक मूल्यांकनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना कार्यक्रम अघि बढाउने तयारीमा छन् ।
त्यसअनुरूप अधिकांश विद्यालय असार १ बाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारी गरिरहेका छन् ।

शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको छ ।

त्यस अनुरूप स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न लागेका हुन् ।

‘पाठ्यपुस्तक नपाउने समस्या छैन’

यो वर्ष कक्षा २, ३, ६ र १२ मा नयाँ एकीकृत पाठ्यपुस्तक लागू हुँदैछ । गत वर्ष कक्षा १ र ११ मा नयाँ एकीकृत पाठ्यपुस्तक लागू भएको थियो । आगामी वर्षभित्र सबै कक्षामा एकीकृत पाठ्यपुस्तक लागू गर्ने सरकारको योजना छ ।

सरकारले पाँच कक्षाभन्दा माथिको पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । यस्तै कक्षा ४ भन्दा तलको पाठ्यपुस्तक निजी प्रकाशन गृहहरुले छाप्ने भएका छन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अरुणप्रसाद न्यौपानेका अनुसार कक्षा ६ का पाठ्यपुस्तक केही दिनभित्र तयार भइसक्ने अवस्था छ । तयार भइसकेका पाठ्यपुस्तक निषेधाज्ञाको कारण सम्बन्धित स्थानमा पुर्‍याउन कठिन भइरहेपनि भर्ना अभियान अवधिभित्र पुर्‍याउने उनको भनाइ छ ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले सबै पुस्तक प्रकाशनको काम सकेर बिक्री वितरण सुरु गरेको बताए । ‘निषेधाज्ञा जारी रहेकाले बिक्री वितरणको कामले गति भने लिएको छैन,’ उनले भने, ‘तर समयभित्रै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने अवस्था छ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ४ : ५९ बजे