१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डोमालाल राजवंशी रंगशाला: राजवंशीका सन्तान चिन्तित


२० माघ २०७७, मंगलबार  

0
Shares

बिर्तामोड २० , माघ  । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएर डोमालाल राजवंशी रंगशाला बन्ने भएपछि राजवंशीको परिवारमा खुशीसँगै चिन्ता थपिएको छ ।

आफ्ना पितापूर्खाले दान दिएको जग्गा हिनामिना भएर फिर्ता हुँदा डोमालालका परिवारका सदस्यहरु हर्षित भएका छन् । तर, त्योसँगै त्यही जग्गामा आश्रय लिएर बसिरहेका आफूहरुलाई हटाउने कुराले उनीहरु चिन्तित बनेका हुन् । डोमालालले देवी गुठीलाई करिव १२ विगाह जग्गा दान दिएका थिए । सो जग्गा विभिन्न व्यक्तिहरुले हिनामिना गरेका थिए । हिनामिना भएको जग्गा फिर्ता गराउन थालिएको छ । त्यसक्रममा केही जग्गा फिर्तासमेत भइसकेको छ ।

देवी गुठीको जग्गा आफ्नो नाममा पार्ने व्यक्तिहरुबाट जग्गा फिर्ता गराउन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पहल गरेका थिए । मोही टिकादेवी विमलीको नाममा कायम भएको २ विगाह ८ कठ्ठा १८ धुर जग्गा उनका छोरा केशव विमलीले अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला हुनेगरी फिर्ता दिएका छन् । त्यस्तै केशवका काका सूर्यकुमार विमलीले आफ्नो नाममा पारेको ७ कठ्ठा जग्गा फिर्ता गर्न लागेको जनाइएको छ । रमेश महर्जनको नाममा रहेको ८ कठ्ठा जग्गा पनि फिर्ताको पहल भइरहेको छ । फिर्ता भएको र फिर्ता हुन बाँकी सबै १२ विगाह जग्गा डोमालाल राजवंशी रंगशालाको लागि भोगाधिकारमा ल्याउने पहल थालिएको छ । सबै जग्गा रंगशाला बनाउने भएपछि डोमालालका सन्तानको उठिबास हुने भएको छ । उनीहरु त्यही जग्गाको एउटा कुनामा घर बनाएर बसेका छन् । भूमिहीन बनेका डोमालालकी छोरी सम्पति , नातिहरु भीमबहादुर र छविलालले त्यहाँ टहरा बनाएर बस्दै आएका हुन् । उनीहरुका पितापूर्खा डोमालालले दिएको जगगा देवी गुठीका व्यक्तिहरुले बेचिखाएपछि बिर्ताबजारमा ठूलो हंगामा भएको थियो । बेचिखानेहरुलाई स्थानीयले सामाजिक रुपमा कार्वाही गरेका थिए । सोही सामाजिक उपस्थितिले डोमालालका सन्तानलाई सो जग्गामा लगेर बसाएको थियो । तत्कालीन जनप्रतिनिधिहरुको रोहवरमा उनीहरुलाई पितापूर्खाले दिएको जग्गामा घर बनाउन दिइएको थियो ।

२०५४ सालदेखि सम्पति , उनका भदाहरु भीमबहादुर र छविलालले घडेरीको रुपमा तीन–तीन कठ्ठा कमाउँदै आएका छन् ।केही दिनअघि खेलप्रेमीहरुले सबै जग्गा रंगशाला बनाउने र डोमालालका सन्तानलाई हटाउने भनेपछि उनीहरु चिन्तित देखिएका हुन् । आफ्ना हजुरबुवाले दान दिएको जग्गामा आफूहरुले बस्न पाउनु पर्ने डोमालालका नाति भीमबहादुरले बताए । ‘हुँदाखेरि हजुरबुवाले अर्बौको जग्गा दान दिनु भयो’ उनले प्रश्न गरे,‘ अहिले नहुँदाखेरि आफूहरु बस्न पनि नपाउने ?’ अरुहरुले बेचिखाएको , मासेको अबस्थामा आफ्ना हजुरबुवाको जग्गामा आफूहरुको बढी हक लाग्ने उनले जिकिर गरे । जनप्रतिनिधि र समाजले २३ वर्षअघि छुट्याइदिएको ९ कठ्ठा जग्गा पास गरेरै दिनु पर्ने उनको माग छ ।

२०५२ सालभन्दा अघि तत्कालिन अनारमनी गाउँ विकास समितिले संचालन गरेको अनारमनी दुर्गा गुठी संस्थानको जमिन राज गुठीमा लगी विभिन्न व्यक्तिले आफ्नो नाममा हत्याएका थिए ।
जग्गा फिर्ता भएपछि बिर्तामोड नगरपालिकाले पनि सो जग्गामा रंगशाला बनाउन पहल गर्ने आश्वासन दिइसकेको छ । डोमालाल राजवंशीले बिर्ताबजारमा रहेको दुर्गा मन्दिरको नाममा १२ विगाहभन्दा बढी जग्गा दान दिएका थिए । सो जग्गालाई देवी गुठी हुँदै राजगुठीमा लगेर बेचिखाने काम भएको थियो ।

(प्रतिदिन दैनिकबाट साभार)

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १ : ०९ बजे