१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ


९ मंसिर २०७७, मंगलबार  

0
Shares

दमक/  झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक्राउ गरेको हो।

हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ गर्नुपरेको विभागका एक अधिकारीले बताए ।

दमक नगरपालिका-८ (साबिक १३) को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको बताइएकोे छ

यो अभियोगमा उनी यसअघि अदालतबाट धरौटीमा छुटेका थिए। तीन महिना फरार भएका उनी २०७७ चैत ७ गते जिल्ला अदालतमा हाजिर हुन पुगेका थिए ।

झापा दमक नगरपालिका-८ (साबिक-१३ र १४)को ३० बिगाहा बढी सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याएको अभियोगमा पुरीलाई अदालतमा पुर्‍याएको थियो।

पुरी उनका आफन्त, नापी तथा मालपोत कर्मचारीसहित २२ जनालाई सरकारी छाप दस्तखत कीर्तेमा विपक्षी बनाइएको थियो। मुद्दा दर्तासँगै बालुवाटार प्रकरण अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको प्रारम्भिक चरणबाटै पुरी धरौटी बुझाएर छुटेका थिए।

पुसमै पक्राउ पूर्जी जारी भएका पुरी प्रहरीबाट छलिँदै आएका थिए।

प्रहरीको अनुसन्धान अनुसार दुई नम्बर नापी टोली चन्द्रगढी र नापी कार्यालय दमकका कर्मचारीको मिलेमतोमा पुरीले सरकारी जग्गा हडपेका छन्।

पुरीले उक्त जग्गा आफू, आफन्त र नातेदारको नाममा ल्याई विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी अनुसन्धानमा उक्त जग्गा १४८ जना व्यक्तिलाई नामसारी तथा बिक्री गरेको देखिएको छ।

उक्त कार्यमा संलग्न कर्मचारी केहीलाई अदालती, केहीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र पुरीसहितका जग्गाधनीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अन्तर्गत कारबाहीको मागदाबी लिइएको  थियो।

मुलुकी अपराध संहिता-२०७४ को लिखत सम्बन्धीको कसुरअनुसार उक्त जग्गामा आरोपितहरूलाई सरकारी बिगो दुई करोड ६९ लाख ५५ हजार ५८१ रूपैयाँ बिगो कायम गरिएको थियो।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : २८ बजे