३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

चिसाे शुरू भएसंगै भाक्का व्यवसाय शुरू


१७ कार्तिक २०७७, सोमबार  

0
Shares

फाेटाे : झगेन्द्र खड्का 

गौरादह १७, कार्तिक / चिसाे शुरू भएसंगै झापाकाे दक्षिणी क्षेत्रकाे स्थानिय बजार तथा चाैकहरूमा भाक्का व्यवसाय शुरू भएकाे छ ।

अधिकांश मानिसहरुले विहानी खाजाकाे रूपमा मन पराउने भाक्का झापकाे दक्षिणी क्षेत्र गाैरादह र गाैरीगंजकाे विभिन्न बजार र चाैकहरूमा त्यसकाे व्यवसाय शुरू भएकाे हाे ।

भाक्का बिशेष गरि तराई क्षेत्रमा जाडाे महिना सुरु भएपछि बनाइन्छ। भाक्कालाई तराई क्षेत्रमा बसाेबास गर्ने आदिवासी समुदायहरुकाे पहिचानकाे रुपमा पनि लिइन्छ । तराई क्षेत्रमा बसाेबास गर्ने आदिवासी समुदायहरुले जाडाे लागेपछि भाक्का बनाउने गर्दछन्। तराई क्षेत्रमा बसाेबास गर्ने अधिकांश मानिसहरुकाे जाडाे महिना लागेपछि भाक्कालाई खाजाकाे रुपमा खाने गर्दछन। पानीको बाफमा पकाइने भक्का पाक्नसाथ तातै खाँदा स्वादिलाे हुने भएकाले जाडाेमा पकाइने गरेकाे हाे ।

चौक तथा बजारमा भाक्का पकाउन सुरु भएपछि अधिकांश मानिसहरु खाजाकाे रुपमा भाक्का खान आउन थालेका छन्। जाडाे मौसममा बनाइने भक्काले बिशेष गरि जनमजदुरलाई फाइदा भएकाे देखिन्छ। बिहान खाजाकाे रुपमा भाक्का खाएर काम गर्न गएपछि आधा दिन सम्म काम गर्न सकिन्छ।
चामलबाट बनाइएको पिठाेलाई पानीकाे बाफमा पकाइन्छ। पिठाेमा पानी बाहेक अरु केहीपनि मिसाइन्दैन।केही पनि नमिसाई पकाईने भएकाले सबैले भाक्का खान रुचाउने गर्दछन।भक्का बिहानकाे समयमा खाने भएकाले मानिसहरुकाे जमघट हुने स्थान, चिया पसलकाे अगाडि वा त्यसकाे आसपासमा भक्का पकाउने गर्दछन।भक्कामा चिल्लो पदार्थ,मरमसला केहिपनि नमिसाईने भएकाले स्वास्थ्यका लागी समेत फाईदाजनक मानिन्छ। भक्कामा मिसावट नभएका कारण स्वादकालागी भने खाने ब्याक्तिमा फरक पर्दछ।गुलियाे मनपराउने ब्यक्तिहरुले चियासँग खाने गर्दछन।

नुनिले मनपराउनेहरुले धँनियाकाे अचार वा नुन खुर्सानी सँग खाने गर्दछन।नास्ताकाे रुपमा खानेहरुले चनाकाे तरकारी सँग खाने गर्दछन।बिशेष गरि केटाकेटीहरुले अचार वा नुन खुर्सानी सँग खाने गरेकाे पाईन्छ। बुढापाकाहरुले चियासँग भक्का खान रुचाउछन। काम गर्न जानेहरुले चनाकाे तरकारी सँग भक्का खान रुचाउछन।केही मानिसहरुले पकौडा सँग पनि भक्का खाने गरेका छन।
प्राय: सबै प्रकारका बिरामीहरुले समेत खान मिल्ने भक्का काम गर्नेहरुकालागी बढी उपयोगी भएकाे पाईन्छ।अन्य खाजाकाे तुलनामा भक्काकाे मुल्य सस्ताे छ। सस्तो मुल्यमा पाईने र आधादिन सम्म सहजै काम गर्न सकिने भएकाले भक्कालाई खाजाकाे रुपमा खान मन पराउनेकाे संख्या बढी भएकाे पाईन्छ। बिद्यालय वा कलेज पढ्न जाने विद्यार्थीका लागि पनि खाजाकाे रुपमा भक्का उपयोगी हुने भएकाले बिद्यार्थी पनि यसैमा आकर्षित हुने गरेका छन्।

दक्षिणी क्षेत्रका चौक तथा मुख्य बजारहरुमा जाडाे महिना लागेपछि बिहान भाक्का पकाउने गरिन्छ भने खानेहरुकाे पनि भिड लाग्दछ। दक्षिणी क्षेत्रका मुख्य बजारहरु गौरादह, ग्वालडुब्बा, गौरीगंज,दामुनाका साथै अन्य सानातिना बजार तथा चौकहरुमा पनि भक्का पकाई बिक्री गर्ने गरेका छन्। भाक्काबाट धेरै कमाई नभएपनि थाेरै समयमा घर खर्च चलाउने आम्दानी हुने भएकाले याे ब्यबसाय गरेकाे गौरादह -७ पुरानाे ग्वाल्डुब्बाकी भाक्का ब्यबसायी अनिता राजवंशी बताउँछिन्।

भाक्का पकाउनका लागि साँझमा चामल भिजाएर बिहानका राति उठेर पिठाे कुट्न केही समस्या भएपनि बिहान केही काम नहुने भएकाले समयकाे सदुपयाेग हुनुका साथै घर खर्च चलाउने कमाई हुने भएकाले भक्का ब्याबसाय गरेकाे गौरादह -७ कि अर्की भक्का ब्याबसायी कबिता माक्रा बताउछिन्। जाडाे महिना भर्खर सुरुवात भएकाले अहिले दैनिक ५ के.जि.चामलकाे पिठाेकाे भाक्का बनाई बिक्री गर्ने गरेकाे बताईन। जाडाे बढेपछि दैनिक ८ देखि १० केजी चामलकाे पिठाेकाे भाक्का बिक्री हुने गरेकाे माक्रा बताउँछिन्।

कहिलेकाही भाक्का पकाउन ढिलाे हुँदा भाक्का खाने ब्यक्तिहरु भाक्का पकाउने ठाँउमा पर्खेर बस्ने गरेकाे माक्राले बताइन।बिहान बिद्यार्थीहरु आउने समय र भक्का किनेर घरमा लगेर खानेहरु एकैपटक आएमा भक्का पकाएर दिन भ्याईनभ्याई हुने गरेकाे ग्वालडुब्बाकी भक्का ब्यबसायी अनिता राजवंशी बताउछिन। भाक्का सस्तो मुल्यमा आउने र आधा दिन सम्म काम गर्न सकिने भएकाले अधिकांश मानिसहरुले खान मन पराउने गरेकाे पुराने ग्वालडुब्बाका जाेगेश माक्रा बताउँछन्। आफुले पनि सँधै बिहान खाजाकाे रुपमा भक्का खाएर काम गर्न जाने गरेकाे उनले बताए।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : १९ बजे