१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

असाेज १६ गतेबाट गाैरीगंजमा शैक्षिक संस्था खुल्ने, दुई सिफ्टमा पढाइ हुने


२ आश्विन २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज २, असाेज / कोरोना भाइरस कोभिड -१९ संक्रमणको कारण विगत पाँच महिनादेखि बन्द रहेको गाैरीगंजका शैक्षिक संस्थाहरूमा असाेज १६ गतेदेखि पठनपाठन शुरू हुने भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे आज बसेकाे कार्यपालिका वैठकले गाैरीगंज शिक्षा समितिकाे सिफारिस बमोजिम  शैक्षिक संस्थाहरूमा पठनपाठन शुरू हुने  निर्णय  गरेकाे हाे ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७” को स्वीकृत गरेसँगै सोही बमोजिम असोज १६ गतेदेखि निजी तथा सामुदायिक विद्यालय खुलाउन लागेका हुन् ।

मन्त्रालयले जारी गरेको निर्देशिकाले तोकेको मापदण्डसँगै शिक्षा समितिकाे निर्णय बमाेजिम गाैरीगंज गाउँपालिकाले स्वास्थ्य मापदण्ड समेत पूरा गरी विद्यालय खुलाउन लागेकाे शिक्षा शाखाका अधिकृत केशव भट्टराईले जानकारी गराएका छन् ।

गाउँपालिका भित्र रहेका सामुदायिक तथा निजी शैक्षिक संस्थाहरूले असाेज १५ गतेसम्म आन्तरिक कार्ययाेजना बनाई काेराेना भाईरसकाे महामारीबारे जनचेतना फैलाई त्यसबाट बच्न सावधानीका उपायकाबारे प्रचारप्रसार गर्दै घरदैलाे गर्ने, आधारभुत तह विहान ११ बजेदेखि विद्यालय सञ्चालन गर्ने, कक्षा ६ देखि माथिल्ला तहका कक्षाहरू विहान ७ बजेदेखि सञ्चालन गर्ने, विद्यार्थी संख्याकाे अाधारमा ५० जना बराबर १ वटा साबुन, मावि तहका विद्यालयलाई २ वटा र आधारभुत तहलाई १ वटा थर्मल गन , ११० वटा वाल्टिन गाउँपालिकाले उपलब्ध गराउने निर्णय भएकाे गाैरीगंज शिक्षा शाखा प्रमुख सुशील दाहालले जानकारी गराएका छन् ।

विद्यालय सञ्चाल गर्ने क्रममा शिक्षक वा विद्यार्थीलाई ज्वाराे वा काेराेना भाईरसकाे कुनै लक्षण देखिएमा गाउँपालिकाले पीसीआर परिक्षण गरि आईसाेलेसनमा राख्ने व्यवस्था गाउँपालिकाले गर्ने समेत निर्णय भएकाे गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाले बताएका छन् ।

गाैरिगंज गाउँ पालिका शिक्षा समितिकाे सिफारिसमा गाउँ कार्यपालिकाे निर्णय अनुसार सामुदायिक विद्यालयहरूले असाेज १५ गते भित्र शिक्षा शाखा कार्यालयमा सामाजिक परिक्षण प्रतिबेदन बुझाईसक्नु पर्ने छ । त्यसैगरी सीप र छात्रवृत्ति बितरण गरेकाे भर्पाइ अनिवार्य बुझाउन समेत शिक्षा शाखाले सम्वन्धित विद्यालयहरूलाई अनुराेध गरिएकाे शिक्षा अधिकृत भट्टराईले जानकारी गराएका छन् ।

गाैरीगंज गाउँपालिका भित्र ४ वटा मावि र २२ वटा आधारभुत सामुदायिक विद्यालय तथा १७ वटा निजी विद्यालय छन् । निजीबाहेक सामुदायिक विद्यालयमा करिब ५ हजार ४ सय ८५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : २३ बजे