१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहका ५ सय परिवारलाई नि:शुल्कमा धारा जडान


२९ भाद्र २०७७, सोमबार  

0
Shares

गाैरादह २९, भदौ /
झापाको गौरादह नगरपालिका क्षेत्रका विपन्न घर परिवारलाई निशुल्क खानेपानी जडान गरिएको छ । गौरादह खानेपानी तथा वडा कार्यालयले एक घर बराबर धारा जडानमा लाग्ने ८ हजार रुपयाँ रकम साझेदारी गरी ५ सय घर परिवारमा नि:शुल्क धारा जडान गरेको छ ।
बर्षाै देखि आर्सानिक युक्त पानी पिउँदै आएका ग्रामिण क्षेत्रका विपन्न परिवारले नि:शुल्क धारा जडान पछि शुद्ध खानेपानी पिउन पाएपछि खुशी बनेका छन् ।  
झापाको गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी जडानका लागि ८ हजार शुल्क लिने गरेको छ । तर आर्थिक अभाव हुने परिवारका लागि खानेपानीसँगको साझेदारीमा ५ लाख बजेट विनियोजन गरी खानेपानी वितरण गरेको गौरादह नगरपालिका वडा नं. ३ का अध्यक्ष गजेन्द्र घिमिरेले बताउनु भयो ।
प्रदेश सरकारको झण्डै ८९ लाख बजेटमा पछिल्लो समय सौर्य उर्जाबाट पानी तान्ने प्रविधि जडान गरेसँगै गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानीको महशुल समेत घटाएको छ । ३  हजार घरधुरीमा पानी पुर्याईरहेको समितिले स्थानीय तहको साझेदारीमा ३ वटा वडामा ५ सय विपन्न घरपरिवारलाई नि:शुल्क धारा जडान गरेको र यो कार्य जारी राखिएको समितिका सचीव डण्डिराज घिमिरेले बताउनुभयो ।  
बर्तमान संविधानको धारा ३५ को दफा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर अझै पनि झापाका ग्रामिण क्षेत्रमा १७ प्रतिशत भन्दा धेरै मानिसमा खानेपानीेको पहुँच पुग्न नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाको तथ्याङ्क छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : ०८ बजे