१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ को बजेट ४१ अर्ब


२ असार २०७७, मंगलबार  

0
Shares

20200616_064553

विराटनगर २, असार / प्रदेश १ सरकारले आर्थिक वर्ष ०७७/७८का लागि करिब ४१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।  

जसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै पूँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार रुपैयाँ विनियोजन गरिएकोछ । प्रदेश १ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले बजेट स्वास्थ्य र रोजगारी केन्द्रित भएको बताएका छन् । बजेटमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण र अस्पतालहरूको स्तरोन्नति गर्ने योजना ल्याएको छ । यस्तै प्राबिधिक शिक्षालाई बजेटले प्राथमिकतामा राखेको छ । मनमोहन प्राविधिक विश्वव्दिालय, मदन भण्डारी प्रोद्योगिक महाविद्यालय लगायतका प्राविधिक जनशक्ती उत्पादन गर्ने संस्थाहरूको क्षमता अभिबृद्धिलाई बजेटले प्राथमिकतामा राखेको छ ।

 यस्तै बजेटले कृषिउत्पादन र उत्पादकत्व बृद्धिका कार्यक्रमलाई जोड दिएको छ । युवालाई कृषिमा आकर्षित गर्न निव्र्याजी कर्जा उपलब्ध गराउने, साना किसानलाई ३ वर्षसम्म व्याज अनुदान दिने लगायतका कार्यक्रमहरू बजेटमा समावेश गरिएको छ । प्रदेश सरकारले ‘उत्पादन किसानको, बजार र मूल्य सरकारको’ भन्ने नारासहित किसानले उत्पादन गरेको कृषि उपजको मूल्य र बजार सुनिश्चित गर्ने योजना ल्याएको अर्थमन्त्री आङ्वोले बताए । 
प्रदेशमा पशु आहाराका लागि मकै उत्पादन बढाउने,चैतेधान उत्पादनमा अनुदान दिने, लसुन र प्याज उत्पादनलाई अनुदानको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरू पनि ल्याएको छ ।

चिया अनुसन्धान केन्द्र स्थापना गरी चिया क्षेत्रको विकास गर्ने, प्रदेशमा शित भण्डार निर्माण गर्ने, अदुवा, अलैंची उत्पादन र प्रशोधनका लागि पनि बजेट व्यवस्था गरेको छ । यस्तै किसानलाई परिचयपत्र दिने, सहकारी मार्फत प्रदेशमा धुलो दुध स्थापना गर्ने योजना पनि प्रदेश सरकारले ल्याएको छ ।

रोजगार सूचना केन्द्र सुदृढिकरण गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत युवाहरूलाई सीप र रोजगारी उपलब्ध गराउनेलगायतका कार्यक्रम पनि बजेटमा समाबेश गरिएका छन् । प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका लागि २ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  

राजधानीका पूर्वाधार निर्माणका लागि जग्गा खरिद गर्न, इटहरीमा प्रादेशिक सभागृह बनाउन, रिफर्समेन्ट सेन्टर निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ । यस्तै विराटनगर, चक्रपथ निर्माण, इटहरी चक्रपथको संभाव्यता अध्ययन गर्ने, प्रदेशका पर्यटकिय क्षेत्रको विकास गर्नेलगायतका कार्यक्रम पनि बजेटमा समावेश गरिएकोछ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : ०४ बजे