१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा लकडाउन खुकुलो पारियो, इँटा विक्री केन्द्रदेखि हार्डवेयर पसलसम्म खोल्ने निर्णय


२६ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200508_215457

भद्रपुर २६, बैशाख / झापामा लकडाउन झन् खुकुलो बनाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति भद्रपुरमा शुक्रवार दिउँसो कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको कोरोना भाइरस सम्बन्धी न्यूनतम मापदण्ड पूरा गर्दै जिल्लाका पसलहरू चार घण्टा खुल्ने निर्णय गरेसँगै लकडाउन झन् खुकुलो बनाइएको हो ।

सर्वपक्षीय बैठकमा जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इट्टा विक्री केन्द्र, बैङ्क तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टस लगायतका पसलहरू बिहान ८ बजे देखि दिउँसो १२ बजेसम्म सङ्घीय सरकारले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघिको सर्वपक्षीय बैठकले जिल्लाका खाद्यान्न र सागसब्जीका पसल मात्र बिहान ८ देखि ११ बजेसम्म खोल्ने निर्णय गरेको थियो । त्यस्तै बैठकले घर बहाल कर, व्यवसायी कर तथा शुल्कहरू छुटका लागि स्थानीय उद्योग वाणिज्य सङ्घहरूसँग समन्वय गरी आवश्यक निर्णय गर्न गाउँपालिका÷ नगरपालिकाहरूलाई अनुरोध गर्ने, गाउँपालिका तथा नगरपालिकाबाट हुने राहत सामाग्री कडाइका साथ एकद्धार प्रणाली मार्फत वितरण गर्ने साथै राहत सामाग्री तोकिएको मापदण्ड र गुणस्तरको हुनुपर्ने निर्णय गरिएको छ । लकडाउनमै सरकारले शुक्रवारदेखि ४४ प्रकार उद्योग सञ्चालन गर्ने अनुमति दिएसँगै त्यसलाई जिल्लामा कार्यान्वयन गर्ने, गराउने विषयमा बैठक बसेर यस्तो निर्णय गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनका अनुसार जिल्लाका उद्योग तथा व्यवसायहरू सुचारुका लागि न्यनुतम मापदण्डसहित सञ्चालनको अनुमति पालिकाहरूले प्रदान गर्ने निर्णय गरिएको छ । उद्योगहरूले कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने, काम गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क र हात धुने व्यवस्था अनिवार्य मिलाउनु पर्ने, कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य परिचय–पत्र दिएको हुनुपर्ने र ढुवानीका साधन चालक र सह–चालकको अनिवार्य परिचय–पत्र हुनुपर्ने निर्णय गरिएको छ । त्यस्तै खाद्यान्न, औद्योगिक उत्पादन र कृषि प्रयोजनका ढुवानीका साधनहरूको हकमा पास आवश्यक नपर्ने र त्यस्ता सवारी साधनका चालक र सह–चालक बाहेक अन्यलाई यात्रा गराइएको पाइएमा कानुनी कारबाही हुनेछ ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकमा सांसद, जनप्रतिनिधि, जिल्लाका सबै राजनीतिक दल, प्रहरी, प्रशासन प्रमुख, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश टाईम्समा पार्थ मण्डलले लेखेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : १२ बजे