३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

यस वर्ष सिरूवा मेला नलाग्ने


२७ चैत्र २०७६, बिहिबार  

0
Shares

20200409_160631

दमक २७, चैत /
पूर्वका राजवंशी,ताजपुरिया,धिमाल,गनगाई,चौधरी लगायतका आदिवासी समुदायले मनाउने सिरुवा पर्वका अवसरमा लाग्दै आएको मेला यसवर्ष नलाग्ने भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको ( कोभिड —१९ ) जोखिम हुन सक्ने भएको भन्दै विभिन्न स्थानमा आयोजना हुने मेला स्थगित गरिएको हो । मेला आयोजकहरुले सूचना निकालेर यसवर्ष सिरुवा मेला नलाग्ने जनाएका हुन् ।
ताजपुरिया समाज कल्याण परिषदका पूर्व केन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार बर्षौदेखि नयाँ वर्षका अवसरमा सामुहिक रुपमा आदिवासीले आफ्ना कुलदेवीदेवताका पूजाआजा गरी मनाउँदै आएको सिरुवा मेला यसवर्ष कोभिड— १९ का कारण प्रभावित बन्न पुगेको हो । मेलामा महामारी फैलिन सक्ने जोखिम भएकाले त्यसवाट पूर्व सर्तकताका साथ मेला नलगाउने निर्णय भएको उनले बताए ।
झापाको कमल— ६ जिम्दार चोकस्थित महाराजथानमा प्रत्येक बर्ष बैशाख १ गते सिरुवा मेला लाग्दै आएकोमा यसपटक नलाग्ने भएको आयोजक समेत रहेका उनले बताए । यतिखेर विश्व नै महामारीको चपेटामा परेकाले आफ्ना चाडपर्व भन्दा आफू ,आफनो समाज तथा देशलाई यस महामारीबाट कसरी बचाउँने भन्ने चुनौती देखिएकाले यस वर्ष सिरुवा मेला स्थगित गरिएको उनले बताए ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका —५ स्थित सुनवर्षीमा लाग्दै आएको सिरुवा मेला पनि यस वर्ष कोरोना भाईरसको महामारीका कारण नलाग्ने भएको छ । सुनवर्षी महाराज मन्दिर,पोखरी देवस्थल संरक्षण समितिका अध्यक्ष अतनकुमार वुढाथोकी र सचिव शिवदयाल राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नयाँ वर्षमा लाग्दै आएको सिरुवा मेला यस वर्ष भने नलाग्ने सर्वसाधारणलाई सूचित गरिएको उल्लेख छ ।
सिरुवा पर्वका अवसरमा बर्षौदेखि त्यहाँ ठूलो मेला लाग्दै आएको छ । मेला भर्न मोरङसहित झापा र सिमावर्ती भारतका विभिन्न स्थानका दर्शनार्थीहरु आउने गरेको मेला आयोजक समितिका सचिव राजवंशीले बताउँछन् । तर यसवर्ष भने महामारीका कारण मेला स्थगित गर्न बाध्य हुनुपरेको उनको भनाइ छ ।

नयाँ वर्षको बैशाख १, २ र ३ गते आदिवासीहरुले पानी, हिलो र रङ खेलेर यो पर्व मनाउने चलन छ । त्यस अवसरमा झापा र मोरङमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम गरिदै आएको छ । गत वर्ष झापा र मोरङका करिव २० ठाउँमा सिरुवा कार्यक्रम आयोजना गरिनुका साथै त्यहाँ सिरुवा मेला पनि लागेको थियो । तर यस वर्ष भने त्यहाँ महामारीको त्रासका कारण कुनै चहलपहल नभएको राजवंशी समाज विकास समितिका अध्यक्ष पुकार राजवंशीले बताउँछन् ।
आदिवासीहरुले दशैं पर्वझैँ सिरुवाको ठूलो महत्व रहिआएकाले यस पर्वलाई आप्mनै घरघरमा मनाउने तय गरिएको राजवंशी समुदायका युवा पत्रकार आत्माराम राजवंशी बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १० : २४ बजे