१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमक र कमलमा धमाधम राहत संकलन हुँदै


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

20200331_202253
दमक १८, चैत्र / झापाको कमल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई कमल – ५ स्थित मंगलवारे बजारका ब्यवसायी गणेशप्रसाद उप्रेतीले नगद १० हजार बढी सहयोग गरेका छन् ।

फर्निचर र हार्डवेयर पसल सञ्चालन गर्दै आएका ब्यवसायी उप्रेतीले मंगलबार आफ्नै घरमा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीलाई १० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले सञ्चालन गरेको कोरोना भाईरसको रोकथाम तथा विपन्न परिवारलाई राहत पुर्याउन दाता उप्रेतीले त्यतिका सहयोग रकम दिएको गाउँपालिकाले जनाएको छ ।
दाता उप्रेतीले सहयोग रकम हस्तान्तरण गर्दे विपतमा सवै मिलेर त्यसको सामना गर्न स्वेच्छिक रुपमा सहयोग पुर्याएको बताए ।

गाउँपालिकाले स्थापना गरेको सो कोषमा विभिन्न संघसंस्था,व्यक्तिहरुवाट सहयोग रकम जुट्दै गएको जनाईएको छ । सो कोषमा गाउँपालिकाका उपाध्यक्ष शिवाकोटीले २५ हजार, कमल ६ का सामाजिक अगुवा कृष्णबहादुर भण्डारीले ५१ हजार,कमल ५ का स्वास्थ्यकर्मी तुलसीप्रसाद तिवारीले १० हजार १५५ ,कमल ७ का खगेन्द्र खनालले ५ हजार , कमल ६ का व्यवसायी याम पाठकले ५ हजार ,कमल २ का शंकरबाबु बस्नेतले ५ हजार, कमल ६ स्थित स्वर्णकमल सहकारी संस्थाबाट ५हजार ५ सय , कमल ६ का राम मिश्रबाट १ हजार ५ गरी जम्मा १ लाख १७ हजार ७ सय ६६ रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ । यस्तै कमल १ मा रहेको झापाली इटा उद्योगका सञ्चालक भगवान बस्नेतले ५१ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

गत चैत्र १२ मा बसेको कमल गाउँपालिकाको बैठकले कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि रु १० लाखको कोष स्थापना गर्ने निर्णय गरेको थियो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको चैत्र महिनाको तलवको १० प्रतिशत रकम सो कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो ।
त्यस्तै दमक नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानमा विभिन्न संघसंस्था,व्यक्तिहरुवाट नगद तथा जिन्सी सहयोग प्राप्त हुन थालेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार अभियानमा हालसम्म दमक उद्योग वाणिज्य संघले १ लाख ११ हजार १ सय ११ रूपैया, रोटरी क्लब अफ दमकले १ लाख ४२ हजार,लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट, इस्टर्न लाइन, श्रीअन्तु, वेलसिटी, बिग बुद्ध, सेविका, स्वीट सिटी, ग्रीन सिटी,युनाइटेड, गोल्ड, धनेश्वर, माउण्ट मकालुले संयुक्त रुपमा १०० बोरा चामल, हेम एण्ड माया थापा फाउण्डेसन न्यूयोर्क, अमेरिकाबाट ५० बोरा चामल, प्रजिता दंगालबाट ५० केजी दाल र ५० केजी नुन प्राप्त भएको छ ।

यसैगरी कोषमा दमक १ कै प्रजिता एकेडेमीका जीवन शिवाकोटी र तारा लामिछानेवाट नगद रु २०,००० र न्यू जागृति बचत तथा ऋण सहकारी संस्थाबाट ६२५ केजी चामल ४०० केजी चिउरा उपलब्ध भएको छ । अभियानमा कसैलाई सहयोग गर्न मन भए सोझै सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ । यस्तै,मुगाधन कृष्णकुमारी स्मृति प्रतिष्ठानबाट रु १० हजार र दुई वोरा चामल तथा दमक २ का तीर्थप्रसाद लामिछानेवाट रु २० हजार समेत प्राप्त भएको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताईन् ।

यसअघि नगरपालिकाले नगर प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा रु ३० लाखको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोष गठन गरेको छ । कोषमार्फत नगरपालिकाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत उपलव्ध गराउन तयारी थालिएको नगर प्रमुख ओलीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ४० बजे