१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कम्युनिस्ट नेताहरुलाई सेल्टर दिने झापाली मजदुर नेता सतालसिंह राजबंशीको निधन


२५ पुस २०७६, शुक्रबार  

0
Shares

20200110_165916
ज्यामिरगढी । पञ्चायतविरुद्व आन्दोलन गरेका नेपालका कम्युनिस्ट नेताहरुलाई सेल्टर दिने झापाली मजदुर नेता सतालसिंह राजबंशीको निधन भएको छ ।

मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजबंशीको बुधवार राति निजी निवासमा निधन भएको थियो । विहीवार स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।

झापा विद्य्रोह अघि र पछि नेपालका कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी, सीपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गी लगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताउँछन् ।

सेल्टर दिएवापत कयौपटक हिरासत, भुमिगत र निर्वासन जीवन भोगेको सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाउँथे ।

घाँटीमा ट्युमर भएका उनलाई ६ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो । उपचार गर्न नपाउँदै उनको निधन भएको छ ।

सतालसिंहका छोराहरु विनोद, गणेश, शनि र दिलकुमार तथा छोरीहरु जल, अन र लिल राजबंशी छन् । उनी माइली छोरीसँग बस्दै आएका थिए ।

निरन्तर पार्टीमा समर्पित सतालसिंह झापाबासी तथा मेचीनगरका एक होनहार कम्युनिस्ट आन्दोलनका योद्वा रहेको प्रदेश सांसद गोपाल बुढाथोकी बताउँछन् ।

सतालसिंहका दाजु खोका राजबंशीलाई पनि पञ्चायत विरुद्वको आन्दोलनमा जेल परेको नेकपाका नेता भिम खवासले बताए । उनका अनुसार २०२२ सालमा भुमिसुधार लागु हुँदासमेत सतालसिंहले एकटुक्रा जग्गा पनि पाएका थिएनन् । उनको आर्थिक अवस्था ज्यादै दयनीय थियो ।

उनी अर्काको जग्गामा बसेर जीविकोर्पाजन गर्दै आएका थिए । त्यतिखेर कम्युनिस्ट नेताहरुलाई दुःख गरेर भए पनि घरमा सेल्टर दिएर राखेको खवासको भनाई छ । उनी बहुदलपछिको पहिलो निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट साविकको ज्यामिरगढी वडा नम्बर ७ का वडा अध्यक्षसमेत भएका थिए ।

निरन्तर कम्युनिस्ट आन्दोलनमा लागेका सतालसिंह पूर्व एमाले थिए । पछिल्लो समय एमालेबाट पूर्व माओवादी समेत भएका थिए ।
पार्टीका उच्च तहबाट उनको उपचार र आर्थिक उपार्जनमा खासै सहयोग भएको थिएन । उनलाई सेल्टरदाता भनेर बिर्तामोडमा एकपल्ट सम्मान चाहिँ गरेको थियो । दुःख गरेर परिवार पालेका उनी धुलाबारीमा पुरानो मोडलको पाइडल रिक्सा चलाउँथे ।

निरन्तर पार्टीमा समर्पित सतालसिंह झापाबासी तथा मेचीनगरका एक होनहार कम्युनिस्ट आन्दोलनका योद्वा रहेको सांसद गोपाल बुढाथोकी बताउँछन् । ‘२०४७ सालदेखि नजिकबाट चिन्ने मौका पाएको छु’, सांसद बुढाथोकीले भने–‘ उहाँ सादाजीवन उच्चबिचारका धनी झापाली कम्युनिस्ट आन्दोलनका अगुवा मजदुर नेता हुनुहुन्थ्यो ।’

उनको अन्त्येष्टिमा पार्थिव शरीरमा सांसद बुढाथोकी, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेल लगायत नेता तथा कार्यकर्ताहरुले नेकपाको झण्डा ओढाएका थिए । उनको निधनमा मौनधारण र श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

(लाेकतन्त्रपाेष्टबाट )

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : १४ बजे