१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा संविधान दिवस मनाउने तयारी


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

images
बिर्तामोड २६, भदौं /

झापामा संविधान दिवस मनाउने तयारी तीब्र पारिएको छ । जिल्ला समन्वय समिति झापाको कार्यालयमा विहीवार बसेको बैठकले असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले २, ३ र ४ गतेलाई संविधान दिवस मनाउने निर्णय गरेको हो । बैठकले प्रदेश सरकार मन्त्री परिषद्को निर्णय बमोजिम स्थानीय रुपमा भद्रपुर नगरपालिकाको मेची पुलमा राष्ट्रिय झण्डा फहराउने निर्णय समेत गरेको छ ।

सोही निर्णय बमोजिम मेचीनगर र दमक नगरपालिका क्षेत्रमा त्यस्तै कचनकवल गाउँपालिकामा झण्डा फहराउनका लागि सम्बन्धी स्थानीय तहलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरेको सूचना अधिकारी गोपाल लिम्बूले जानकारी दिए । असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयहरुमा दीपावली गर्ने निर्णय गरिएको छ भने सबै नगरपालिकाहरुलाई आ–आफ्नो घरमा दीपावली गर्न आव्हान गरिएको छ ।

यसैगरी ३ गतेसाँझ ६ बजे ट्रेड युनियन चौक चन्द्रगढीमा दीपावली गर्ने निर्णय भएको छ । असोज २ गते विहान ७ बजे भद्रपुर नगरपालिकास्थित मेची पुलबाट चन्द्रगढी ट्रेड युनियन चौकसम्म मिनि म्याराथुन आयोजना गर्ने निर्णय गरिएको छ भने म्याराथुनमा प्रत्येक विद्यालयका कक्षा ९ देखि १२सम्मका अधिकतम् ५ जना छात्र र ५ छात्रा सहभागी हुन पाउने भएका छन् ।

सहभागी हुन इच्छक विद्यालयले आ–आफ्नो पालिकामा भदौ ३१ गते ५ बजेभित्र नाम दर्ता गराउने र दर्ता भएका सबै नामावली असोज १ गते दिउँसो १ बजेभित्र सबै पालिकाले जिल्ला खेलकुद विकास समिति झापाको कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको छ ।

विजेतालाई प्रथम, द्वितीय, तृतीय, चौथोलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार र दुई हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको बताइएको छ ।

विद्यार्थी सहभागिताका लागि पालिका शिक्षा शाखामार्फत र म्याराथुन दौडको प्राविधिक व्यवस्थापन जिल्ला खेलकुद विकास समिति झापा तथा प्राथमिक उपचारको व्यवस्थापन मेची अञ्चल अस्पताल र नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ ।

संविधान कार्यान्वयनको अवस्था विषयक विचार गोष्ठी असोज ४ गते जिल्ला समन्वय समिति झापाको सभाहलमा १ बजे आयोजना गरिने जिल्ला समन्वय समिति झापाको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  १ : १० बजे