५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

२ महिना भित्र निर्माण गरिने कालोपत्रे बाटोको रकम फ्रिज, बाटो अधुरै


८ श्रावण २०७६, बुधबार  

0
Shares

pich bato
गौरीगंज ८, साउन /  गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित भारु चौक दक्षिण कृष्ण महतोको घर देखि देवीगंज जाने बाटोमा निमार्ण गरिने कालोपत्रे बाटो अधुरै छाडिएको छ ।
निर्माण कम्पनीले वैशाख २५ गतेबाट निर्माण कार्य शुरु गरेपनि सम्पन्न गरिने समयसीमा अपुग भएको भन्दै ६० मिटर पिच बनाई निर्माण कम्पनीले अधुरै छाडेको हो । असार २५ गते भित्र ९ सय ३५ मिटर बाटो पिच बनाउने गाउँपालिका संग सम्झौता भएको थियो । तर समयमा कालोपत्रे बनाउन चाहिने मेट्रियल समयमा नआएको र सम्झौता पनि ढिलो भएको कारण पुरा बाटो निर्माण गर्न नसकिएको जगदम्बा कन्स्ट्रक्सनका प्रोपाईटर रवि भट्टराईले बताए ।
तराई मधेश समृद्वि कार्यक्रम अन्तर्गत यो बाटोमा कालोपत्रेका लागि ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर उत्त बाटो पिच निर्माणका लागि जगदम्बा कन्स्ट्रक्सनले ५२ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
कम्पनीले ६० मिटर कालोपत्रे निर्माण गरी लगभग २३ लाख रुपैययाँ निकासा समेत गरिसकेको छ भने बाकी रकम फ्रिज भएको छ ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले अन्तिम समयमा बजेट विनियोजन भएको र त्यसलाई कार्यान्वय गर्ने क्रममा ढिला भएको कारण पुरै बाटो निर्माण गर्न नसकिएको बताए । पुरै बाटोमा कालोपत्रे निर्माण गर्न संघिय सरकारलाई तराई मधेस समृद्वि कार्यक्रम अन्तर्गत थप वजेट विनियोजनका लागि आग्रह गरिसकिएकोले यस आर्थिक वर्षमा कालोपत्रेको काम पुरा हुने अध्यक्ष श्रेष्ठले दाबी गरे । गौरीगंज गाउँपालिकामा पहिलो पटक निर्माण हुन लागेको भनिएको कालोपत्रे बाटो ‘पहिलो गाँस मै ढुंगा’ भनी स्थानियले टिप्पणी गर्ने गरेका छन् । निर्माण कार्य रोकिएपछि बाटो कालोपत्रे नहुने हुन कि भनेर उनीहरुले आशंकासमेत गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : १४ बजे