१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान


१० माघ २०७५, बिहिबार  

0
Shares

20190124_105159
विराटनगर १० , माघ / सोमबार २ बजे प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान थियो । कार्यालय अगाडिको पार्किङस्थल खाली थियो । प्रदेशका प्रमुख सचिवसहित अधिकांश विभागीय सचिवका कोठा पनि खाली थिए । ‘मुख्यमन्त्री नभएपछि प्रमुख सचिवको काम हुँदैन,’ सचिव बलदेवप्रसाद जोशीले भने, ‘प्रमुख सचिव नभएपछि धेरै सचिवको काम हुँदैन ।’ मुख्यमन्त्री कार्यालयमा कर्मचारीको संख्या पनि कम थियो । मुख्यमन्त्री आइतबार इलाम कार्यक्रम उद्घाटनका लागि गएका थिए । सोमबार अबेरसम्म मुख्यमन्त्री शेरधन राई मन्त्रालय पुगेका थिएनन् ।

कार्यकक्षमा रहेका सचिव जोशीले तीन पटकसम्म घन्टी बजाए तर एकै जना कार्यालय सहयोगी नआएपछि आफैं उठेर बाहिर आएका थिए । सोमबार ३ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि सुनसान थियो । मन्त्री र सचिव मन्त्रालयमा नभएकाले खासै काम नहुने कर्मचारी बताउँछन् । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रदेश नम्बर ३ को भ्रमण भएका छन् । प्रदेशका अधिकांश मन्त्रालयमा मन्त्री भेट्न मुस्किल हुन्छ ।
प्रदेशका अधिकांश मन्त्रीले उद्घाटनका लागि समय बढी खर्चने गरेका छन् । नियमित रूपमा मन्त्री मन्त्रालयमा नबस्दा आवश्यक काम समेत रोकिने गरेको छ । मन्त्री निस्कनासाथ सचिव हिँड्ने र सचिव हिँडेपछि कर्मचारीसमेत लाखापाखा लाग्छन् । जसले गर्दा मन्त्रालयमासुनसान हुन्छन् ।
मन्त्री मन्त्रालयमा कति बेला र कहिले आउने भन्ने सूचना कर्मचारीलाई समेत हुँदैन । कुन कार्यक्रममा मन्त्री कहाँ गएका छन् भन्ने अत्तोपत्तो नहुने एक कर्मचारीले वताए । ‘मन्त्रीका कार्यक्रम के कहाँ कहिले छन् भन्ने सूचना पार्टीमा मन्त्रालयमा लेखिनुपर्ने हो,’ ती कर्मचारीले भने, ‘मन्त्री आएको गए समेत पनि मन्त्रालयमा नै थाहा हुँदैन ।’
सामाजिक विकास मन्त्री जीवन घिमिरे भने सोमबार मन्त्रालयमा नै थिए । ‘मैले एक महिनासम्म कार्यक्रम उद्घाटन र प्रमुख अतिथि बन्न नजाने घोषणा गरेका कारण यहाँ भेट्नुभयो,’ उनले भने, ‘नत्र यति बेला कहाँ भाषण गर्दै हुन्थे ।’ उद्घाटन र सार्वजनिक समारोहमा बोलाउने क्रम थेगी नसक्नु भएका कारण मन्त्री घिमिरेले पुस १० देखि माघ १० सम्म अतिथि नबने सार्वजनिक घोषणागरेका थिए ।
‘दैनिक ७ वटाभन्दा बढी कार्यक्रममा जानुपर्ने बाध्यता भएकाले मन्त्रालयको काम नै लथालिङ बनेपछि यस्तो निर्णय लिन बाध्य भएँ,’ मन्त्री घिमिरेले भने, ‘नजाउ भने ठूलो भयो भन्ने आरोप जादा मन्त्रालयको काम ठप्प ।’ मन्त्री घिमिरेले फेरि एक महिना यस्ता कार्यक्रममा नजाने बताए ।
‘माघ ११ देखि १६ सम्मलाई कार्यक्रमका खाता लागिसके तर फेरि एक महिना जान बन्द गर्छु ।’ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो सवै नयाँ संरचना भएका कारण मन्त्रालयमा बसेर काम गर्नुपर्ने बताउँछन् ।
‘हामी मन्त्रालयमा बस्दा धेरै कुराले बाटो लिन्छजस्तो लाग्छ,’ उनले भने, ‘राष्ट्रसेवक कर्मचारीहरू नै काम गर्ने मनस्थितिमा नहरेका बेला मन्त्री बाहिर जाँदा मन्त्रालय नै ठप्प हुनु स्वाभाविक हो,’ उनले भने, ‘त्यसो भन्दैमा जनताका कार्यक्रममा नजाने भन्ने चाहिँ होइन ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ५ : ०८ बजे